`

‘सरकारको बुझाइमा सुशासन भनेकै केपी ओली र रमेश लेखकलाई जेल हाल्नु हो’

Nepal One HD ३० कार्तिक २०८२ ११:२०
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जेनजी युवाहरूको नाममा ‘संगठित नाटक’ खेलिरहेको आरोप लगाएका छन् । गुण्डुस्थित आफ्नै निवासमा नेपाल पत्रकार महासंघ र प्रेस चौतारीका पदाधिकारीहरूसँगको भेटवार्तामा अध्यक्ष ओलीले हाल देखिएका जेनजी अभियोजन र मागपत्रका गतिविधिहरू सरकारले नै निर्माण गरेको दाबी गरे ।

ओलीका अनुसार जेनजी युवाहरूलाई सँगै पारेर, उनीहरूकै नाममा मागपत्र मस्यौदा तयार पारिदिने र क्यामेरामै प्रस्तुत गराउनेसम्मको योजना सत्ता पक्षबाट भइरहेको छ । उनले भने, ‘सरकारको बुझाइमा सुशासन भनेको केपी ओली र रमेश लेखकलाई जेल हाल्नु हो । त्यही उद्देश्य पूरा गर्न जेनजी समूहको नाममा मागपत्र लेखिदिने, उनीहरूलाई बोलाएर पढाइ दिने काम भइरहेको छ । यी सबै कलाविहीन नाटक हुन् ।’ उनले यी गतिविधिका संरचनाकारदेखि मागपत्र लेख्ने व्यक्ति र व्यवस्थापनकर्तासम्म सबैबारे आफूलाई स्पष्ट जानकारी रहेको दाबी गरे । ‘बिना पैसा यति ठूलो नाटक हेर्न पाइन्छ भन्ने पनि पहिला थाहा थिएन’, ओलीले व्यंग्य गरे ।

ओलीले वर्तमान प्रतिनिधिसभा विघटनलाई ‘असंवैधानिक निर्णय’ भन्दै तत्काल पुनःस्थापना हुनुपर्ने माग दोहोर्‍याएका छन् । उनका अनुसार अनधिकृत व्यक्तिको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिनु संविधान विपरीत र लोकतान्त्रिक अभ्यासका लागि हानिकारक छ ।

अध्यक्ष ओलीले केही युवालाई जेनजी नाम दिएर १०–२० जनाको समूहमा उभ्याई आफूलाई धम्क्याउने शैलीअनुरूप प्रयोग गरिरहेको दाबी पनि गरेका छन् । ‘उनीहरूमा आवेश र उत्तेजना त देखिन्छ, तर सकारात्मक विचार र गन्तव्य केही छैन’, उनले भने । उनले सरकार चुनावी तयारीभन्दा बढी नाटक र प्रदर्शनमा केन्द्रित रहेको आरोप लगाए ।

ओलीले अवकाश लिए लगत्तै पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई आचरण विपरीत ‘स्थान हद तोकिएको’ निर्णयप्रति कटाक्ष गरेका छन् । ‘हिजोसम्म देशको सुरक्षाको जिम्मा लिने व्यक्ति आज कतै जान नपाउने बनाइयो । यस्तो निर्णयभन्दा ठूलो तमासा के हुन सक्छ ?’ उनले प्रश्न गरे ।

ओलीले सरकारले कानूनको शासन कमजोर बनाउँदै निर्दोषलाई थुनिने, दोषीलाई उन्मुक्ति दिने वातावरण बनाएको आरोप लगे । अध्यक्ष ओलीले आफू सत्य बोलिरहने र निरन्तर लडिरहने व्यक्ति भएको दाबी गरे । ‘कसैले यसलाई दम्भ ठान्छ भने पनि यो घट्दैन । देश बनाउने संकल्पमा म कमजोर हुँदिनँ’, उनले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *