`

अध्यक्ष ओलीको प्रश्न : खासमा यो सरकार कसको हो ?

Nepal One HD ३० कार्तिक २०८२ १६:००
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको र कसले बनाएको भन्ने नै स्पष्ट नभएको टिप्पणी गरेका छन् । पार्टी निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको टोलीसँग आइतबार आफ्नै निवास गुण्डुमा छलफल गर्दै अध्यक्ष ओलीले अपनत्व कसैले पनि नलिएको बेवारिसे सरकार भन्दै प्रश्न उठाएका हुन्।

बेवारिसे सरकारले तोडफोड र आगलागीमा संलग्नलाई कारबाही नगरेर दण्डहीनतालाई प्रश्रय दिएको दावी गर्दै ओलीले प्रश्न गरे, ‘यो सरकार कसको प्रतिनिधि हो ? जेनजीले मेरो सरकार होइन भन्छ । दलले हाम्रो सरकार होइन भन्छन् । संसदले यसलाई म चिन्दिनँ भन्छ । संविधानले मसँग यस्तो सरकार बनाउने व्यवस्था नै छैन भन्छ आखिर यो सरकार कसको हो ?’

अवैधानिक र अनधिकृत रुपबाट विघटन गरिएको संसदलाई पुनःस्थापना गरेर मात्र देशलाई सही बाटोमा हिँडाउन सकिने एक मात्र विकल्प भएको ओलीको भनाई छ । ओलीले थप भने। ‘विभिन्न नामका समूह खडा गरेर कहिले २४ गतेका विध्वंशकारीलाई पक्रन हुँदैन भन्ने ज्ञापन पत्र बुझाउन लगाएको छ ।

अध्यक्ष ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई समात्नु नै सुशासन हो भन्ने सोचिरहेको टिप्पणी गरेका छन् । ओली र लेखकलाई गिरफ्तार गरेर थुन्नुलाई नै अहिलेको सरकारले सुशासन ठानिरहेको उनको भनाइ छ । त्यसका लागि जेनजीलाई संगठित गर्ने, उनीहरूको मागपत्र लेखिदिने, मागपत्र पढाउने, उनीहरूको हातमा मागपत्र दिने जेनजीलाई बोलाएर दबाब दिए भन्ने भ्रम फैल्याउने काममा लागेको उनले बताए ।

वर्तमान सरकारले कलाविहीन नाटक मञ्चन गरिरहेको उनको टिप्पणी छ । उनले भने, ‘जेनजीहरूको मागपत्र हेरेको थिएँ, मागपत्र कसले ड्राफ्ट गरेको मलाई थाहा छ । कहाँ पढाइएको जेनजीलाई थाहा छ, को अर्गनाइजर भएरहेको छ त्यो पनि थाहा छ । जे होस् एउटा तमासा भयो । हामीले बिना पैसा यो असंवैधानिक सरकारको तमासा हेर्न पाएका छौं । नाटकमा अलिकति कला हुनुपर्छ । कलाविहीन नाटक छ, त्यो हेरिरहेका छौं ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *