`

महेश बस्नेतमाथि बेलुन हान्नेलाई कारबाहि गर्न नेसनल भोलिन्टियर्स फोर्सको माग

Nepal One HD ७ मंसिर २०८२ १७:१२
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि आज (आइतबार) विराटनगर विमानस्थल बाहिर रंगले भरिएको बेलुन प्रहारको घटनाप्रति एमाले निकट नेशनल भोलिन्टियर्स फोर्सले कडा आपत्ति जनाएको छ । घटनामा संलग्न नेविसंघका नेतामाथि कठोर कारबाही गर्न संगठनले माग गरेको छ ।

आइतबार बिहान सुनसरीमा आयोजित युवा संघको ‘कोशी जागरण सभा’ मा सहभागी हुन बस्नेत विमानस्थल बाहिर गाडीबाट निस्कँदै गर्दा दुई युवाले रातो रङ मिसाइएको पानीले भरिएको बेलुन प्रहार गरेका थिए । प्रहरीले तत्कालै दुवै युवालाई पक्राउ गरेको छ । उनीहरू महेन्द्र मोरङ क्याम्पसका नेविसंघका नेता सञ्जोग गौतम र अर्पित कुँवर भएको खुलेको छ ।

घटनालाई बस्नेत स्वयंले लोकतन्त्रप्रतिको उपहास भनेका छन् । एमाले नेतृ रामकुमारी झाँक्रीले पनि सार्वजनिक रूपमा दोषीहरूमाथि कारबाहीको माग गरेकी छन् । नेशनल भोलिन्टियर्स फोर्सका कमाण्डर पुष्पराज श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जेन–जी आन्दोलनपछि उत्पन्न भइरहेको असामान्य परिस्थितिलाई चिन्ता जनाउँदै विराटनगरमा बस्नेतमाथि भएको बेलुन प्रहारलाई योजनाबद्ध अराजक गतिविधि भनेर उल्लेख गरिएको छ ।

संगठनले नेपाली कांग्रेससम्बद्ध नेविसंघले यस्तो चरम अराजकता रोक्न नसकेको आरोप लगाउँदै दोषीलाई दण्डित गर्न आग्रह गरेको छ । विज्ञप्तिमा यसअघि काठमाडौंमा सुदन गुरुङ नेतृत्वको समूहले एमाले नेता किसान श्रेष्ठको घरमा धक्काधक्की गरेको र सिमरा विमानस्थलमा महासचिव शंकर पोखरेलको टोलीमाथि अवरोध सिर्जना गरिएको घटनाहरू पनि स्मरण गरिएको छ ।

सम्राट उपाध्याय जस्ता जेन–जी आन्दोलनका योजनाकारहरू अझै खुलेआम हिँडिरहेकाले कानुनी कारबाही तत्कालै अघि बढाउन फोर्सले सरकारलाई चेतावनी दिएको छ । फोर्सका अनुसार, सरकार-विशेषतः सुशीला कार्की नेतृत्व—अपराधीलाई संरक्षण गर्ने भूमिकामा उभिएको आरोप लाग्दै आएको छ । सरकारले संवेदनशील घटनालाई बेवास्ता गरिरहने हो भने परिस्थितिजन्य प्रतिरोधको जिम्मेवारी सरकारले नै वहन गर्नुपर्ने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *