`

कुलमान र रामेश्वरबीच पाँच अर्बको ‘सेटिङ’ रहेको महेशको आरोप

Nepal One HD १६ मंसिर २०८२ १२:२६
प्रमुख खबर

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले ऊर्जा क्षेत्रमा अकल्पनीयस्तरको नीतिगत भ्रष्टाचारको तयारी भइरहेको आरोप लगाएका छन् । आज (मंगलबार) सामाजिक सञ्जालमार्फत बस्नेतले पाँच हजार मेगावाट विद्युत् खरिद सम्झौताका नाममा करिब पाँच अर्ब रुपैयाँ बराबरको आर्थिक चलखेल गर्न खोजिएको दाबी गरेका हुन् ।

बस्नेतका अनुसार ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालको मिलेमतोमा ‘टेक अर पे’ मोडेलमा पीपीए गराउने, र त्यसवापत प्रवद्र्धकसँग प्रतिमेगावाट १० लाख रुपैयाँ उठाउने सिन्डिकेट जस्तो योजना बनाइएको छ । उनले भने, ‘अहिले प्रवद्र्धकहरूसँग प्रतिमेगावाट १० लाख उठाउने गरी कुलमान र रामेश्वर खनालको डिजाइनमा ५ हजार मेगावाटको ‘टेक अर पे’ पीपीए गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी छ ।’

बस्नेतलेका अनुसार अघिल्लो सरकारले बजेट वक्तव्यमार्फत नै ‘टेक अर पे’ मोडेलमा पीपीए नगर्ने स्पष्ट नीति लिएको थियो । बिजुलीको आन्तरिक खपत वृद्धि नभएको, भारतीय बजारको सुनिश्चितता नभएको र ‘रन अफ दि रिभर’ आयोजनाको बाहुल्यताले ऊर्जा सुरक्षामा जोखिम बढेको भन्दै उक्त नीति रोकिएको उनले बताए ।

साथै, सुक्खायाममा बिजुली अभाव हुने तर वर्षायाममा खेर जाने अवस्था र नेपाल विद्युत प्राधिकरणको कमजोर वित्तीय स्वास्थ्यका कारण प्राधिकरणलाई थप भार नपार्न यस्तो निर्णय गरिएको उनको भनाइ छ । यी सबै कारणलाई ध्यानमा राख्दै नेपाल विद्युत प्राधिकरणलाई थप वित्तीय भार नपरोस् भनेर नीति रोकिने निर्णय गरिएको थियो । प्रस्तावित ५ हजार मेगावाटको ‘टेक अर पे’ पीपीएको मुख्य उद्देश्य चुनावी खर्च जुटाउने रहेको बस्नेतको आरोप छ ।

उनले भनेका छन्, ‘पाँच हजार मेगावाटमा प्रतिमेगावाट १० लाख उठाउने हिसाबले ५ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको छ ।’ यो सेटिङ पूरा भएपछि मात्रै ऊर्जा मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिने योजना भएको पनि उनको भनाई छ । बस्नेतले यस्तो निर्णय कार्यान्वयन भए ऊर्जा क्षेत्र मात्र होइन, नेपाल विद्युत प्राधिकरण नै आर्थिक रूपमा धरासायी हुने गम्भीर चेतावनी दिएका छन् ।

‘आफूले देशलाई स्वर्ग बनाए जस्तै कुरा गर्छन् बा, म त हाँसेरै मर्छु कि क्या हो ?’
नेकपा एमालेका नेता महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालमाथि आर्थिक अनियमितताको आरोप लगाएपछि शिक्षामन्त्री महावीर पुनले व्यंग्य गरेका छन् । मंगलबार नेता बस्नेतले ऊर्जामन्त्री घिसिङ र अर्थमन्त्री खनाल मिलेर ५ हजार मेगावाटको ‘टेक अर पे’ पीपीएमार्फत ५ अर्ब रुपैयाँ उठाउने सेटिङ भइरहेको दाबी गरेका थिए ।

सोही आरोपसहितको पोस्टलाई साझा गर्दै मन्त्री पुनले व्यंग्यात्मक शैलीमा बस्नेत र एमाले नेतृत्वमाथि कटाक्ष गरेका हुन् । मन्त्री पुनले बस्नेतको आरोपप्रति प्रतिक्रिया दिँदै लेखे, ‘के–के न आफूहरूले साह्रै राम्रो काम गरेर नेपाललाई स्वर्ग बनाएको र नेपाललाई अति सम्पन्न तथा भ्रष्टाचारमुक्त बनाए जस्तो कुरा गर्छ बा यो भाइले—म त हाँसेरै मर्छु कि क्या हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *