`

अधिवक्ता सुलभ खरेल एमालेको रिटमा नियुक्त नभएको स्पष्टीकरण

Nepal One HD १७ मंसिर २०८२ १९:४८
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले विभिन्न अनलाइन सञ्चारमाध्यममा प्रकाशित केही समाचार असत्य रहेको भन्दै औपचारिक रूपमा खण्डन गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा अधिवक्ता सुलभ खरेल बहसका क्रममा ‘‘न्यायाधीशको प्रश्नले इजलासमै ढलेकै’ दाबी गर्दै प्रकाशित खबरहरू पूर्णरूपमा भ्रमपूर्ण भएको नेता बर्तौलाको भनाइ छ ।

बर्तौलाका अनुसार अधिवक्ता सुलभ खरेललाई एमालेले प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आफ्नो तर्फबाट बहसका लागि अधिवक्ता नियुक्त नै गरेको थिएन । उनले भनेका छन्, ‘खरेल ज्यूलाई यस रिटमा पेशीका अधिवक्ता बनाइएको थिएन, त्यसैले अनलाइनहरूमा लेखिएझैं उनी एमालेको तर्फबाट बहसका क्रममा ढले भन्ने कुरा वास्तविकतासँग मेल खाँदैन ।’

नेता बर्तौलाले स्पष्ट पारेअनुसार, सुलभ खरेल सो दिन संवैधानिक इजलासमा उपस्थित भए पनि उनी पूणरूपमा अर्को मुद्दाको बहसका क्रममा मात्र इजलासमा आएका थिए । उनले सम्बन्धित आफ्नै मुद्दाको बहस सकेपछि मात्रै एमालेको तर्फबाट दायर गरिएको रिटको बहस सुरु भएको थियो । बर्तौलाले तथ्यविपरीत प्रचार गरिएका समाचारले व्यक्तिको पेशागत प्रतिष्ठामा आघात पुग्ने भएकाले यथाशीघ्र सो समाचार सच्याउन सञ्चारमाध्यमहरू समक्ष आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘अनलाइनमा देखिएका भ्रामक विवरणहरूले वास्तविक कार्यवाही र नियुक्तिबारे गलत बुझाइ फैलाएको छ । त्यसैले सत्यतथ्यको सम्मान गर्दै सञ्चारमाध्यमहरूले परिमार्जन तथा सच्याइएको समाचार प्रकाशन गर्नु आवश्यक छ ।’ एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध दायर गरेको रिटको बहस संवैधानिक इजलासमा निरन्तर चलिरहेको छ र पार्टीका आधिकारिक अधिवक्ताहरू निर्धारित क्रमअनुसार बहस गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *