देउवा भेट्न महाराजगञ्ज पुगे ओली
काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न पुगेका छन् । देउवा निवास महाराजगञ्जमा केहीबेरअघि ओली पुगेका हुन् । दुई नेताबीच अहिले भेटवार्ता जारी छ । जेनजी आन्दोलनपछि दुई नेताहरूबीच पहिलो पटक भेटवार्ता भएको हो ।
अध्यक्ष ओलीको सचिवालयका अनुसार दुवै नेताबीच साढे ३ बजे भेटवार्ता गर्ने गरी कार्यक्रम तय गरिएको थियो । स्रोतका अनुसार अहिले देउवा निवासमै दुवै शीर्ष नेताबीच भेटवार्ता जारी छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि उनीहरूबीच औपचारिक भेटघाट भएको थिएन । त्यसअघि एमाले र कांग्रेसबीच सत्ता साझेदारी कायम थियो ।
यसैबीच, आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन तोकिएको बेला शीर्ष नेताहरूको भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण प्रयासका रूपमा हेरिएको छ । समसामयिक राजनीतिक घटनाक्रम, आगामी निर्वाचन रणनीति तथा सहयोगसम्बन्धी विषयमा छलफल हुने बताइएको छ । भदौ २४ गते बूढानीलकण्ठस्थित देउवा निवासमा उनमाथि आक्रमण भएको थियो । उपचारका लागि सिंगापुर गएका देउवा स्वदेश फर्किसकेका छन् । एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट दायर गरेको छ । ओली–देउवाबीचको भेटमा यो विषयमा समेत कुराकानी हुनसक्ने अनुमान गरिएको छ ।
