ईश्वर पोखरेलले ओलीलाई बुझाएको अवधारणापत्रमा के छ ? (पूर्णपाठ)
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलले पार्टी महाधिवेशनलाई लक्षित गर्दै विस्तृत वैकल्पिक अवधारणापत्र सार्वजनिक गरेका छन् । आगामी २७-२९ गते हुने महाधिवेशनको बन्द सत्रमा प्रस्तुत गर्न तयार गरिएको यस दस्तावेजमा उनले हालको राजनीतिक जटिलता, पार्टीको कमजोरी, नेतृत्व व्यवस्था र आवश्यक संरचनागत सुधारबारे स्पष्ट धारणा अघि सारेका छन् ।
पोखरेलले ‘जेन–जी’ आन्दोलन र भदौ २४ का घटनाहरूलाई सुनियोजित विध्वंसका रूपमा अर्थ्याउँदै ती दिनहरूमा पार्टी कार्यालय, नेताहरूको निवास, सिंहदरबार र संसद भवनसमेत लक्ष्यबद्ध रूपमा आक्रमित भएको उल्लेख गरेका छन्। उनका अनुसार युवा पुस्तासँग सम्बन्ध कमजोर हुनु, उनीहरूको आकांक्षा नबुझिनु र सत्तामा हुँदा प्रभावकारी डेलिभरी दिन नसकनु एमालेको मौलिक कमजोरी बनेको छ ।
दस्तावेजको एउटा महत्वपूर्ण अंश पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा पुनः सक्रिय गराउने प्रस्ताव हो । पोखरेलले भण्डारीलाई पार्टी सदस्यताबाट टाढा राख्नु स्वयं एमालेका लागि घाटा भएको टिप्पणी गर्दै उनी फर्कने वातावरण अब बनाइनु पर्ने बताएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीलाई उपत्यकाबाट बाहिरिन रोक लगाइएको प्रसंग उठाउँदै उनले एमालेका गतिविधिमाथि सडकमार्फत नियन्त्रण गर्ने अभियान सञ्चालन भइरहेको आरोप समेत लगाएका छन् । यस परिस्थितिमा निर्वाचन नै राजनीतिक निकासको प्रमुख विकल्प बन्ने उनको निष्कर्ष छ ।
पार्टीलाई पोखरेलका सुझावहरु :-
– कार्यकारी पदमा लगातार दुई कार्यकालभन्दा बढी रहन नपाउने व्यवस्था अनिवार्य गर्ने ।
– ७० वर्ष उमेर सीमा लागू गर्ने ।
– ४० वर्षमुनिका युवालाई सबै तहका कमिटीमा अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्ने ।
– ३० वर्षमुनिका कार्यकर्ताहरूका लागि विशेष प्रोत्साहन नीति ल्याउने ।
मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ लाई समयानुकूल परिष्कृत गर्दै वामपन्थी र लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध गर्ने आवश्यकता रहेको पोखरेलको धारणा छ । उनले विगतको नेकपा एकतालाई हतारमा गरिएको स्वीकार्दै अब विचार र विधिको आधारमा मात्रै एकता सम्भव हुने उल्लेख गरेका छन् । प्रतिनिधिसभा विघटन तथा सुशीला कार्की नेतृत्वको सरकार गठनका विषयमा पोखरेलले आफ्नो व्याख्या पनि राखेका छन् । उनको बुझाइमा ती निर्णयहरू संविधानलाई न्यूनतम क्षतिमा जोगाइराख्ने विशेष परिस्थिति र दबाबका कारण उत्पन्न ‘आपतकालीन विकल्प’ थिए । त्यससँगै उनले अध्यक्ष ओलीमाथि लगाइएको स्थानहद तत्काल हटाइनु पर्ने माग दोहोर्याएका छन् ।
पोखरेलले राजनीतिक अवरोध चिर्न निर्वाचनमै जाने बाटो सही निकास भएको बताउँदा अध्यक्ष ओली भने प्रतिनिधि सभा पुनः स्थापनालाई वैकल्पिक उपायका रूपमा देखाइरहेका छन्। यी फरक धारणा बीच पोखरेलले वर्तमान जटिल अवस्थालाई ‘विशिष्ट परिस्थिति’ भन्दै अत्यावश्यक बाध्यताका कारण मात्रै पुनःस्थापनाको प्रसंग आउन सक्ने निष्कर्ष निकालेका छन् । महाधिवेशन नजिकिँदै गर्दा पोखरेलको यो दस्तावेजले एमालेभित्र नेतृत्व, मार्गदर्शन र संगठनात्मक रूपान्तरणबारे नयाँ बहसलाई तीव्र बनाएको छ ।
हेर्नुस् पूर्णपाठ
https://drive.google.com/file/d/17TGfQIFcCSpbVnR0kSjIu8Ii4ysgxSxn/view?usp=sharing
