एमाले महाधिवेशनमा २,६१३ जना सहभागी हुने, यसरी छानिए प्रतिनिधि
काठमाडौं । नेकपा एमालेले ११ औं राष्ट्रिय महाधिवेशनको तयारी तीव्र बनाउँदै गर्दा प्रतिनिधिमण्डल टुंग्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेलसहितको टोलीले निरन्तर रूपमा प्रतिनिधिहरूको विवरण अभिलेखीकरण गरिरहेको छ ।
संगठन विभागका प्रमुख अधिकारीका अनुसार २,१५४ जना प्रतिनिधि विभिन्न संरचनाबाट निर्वाचित भएर आउने छन् भने केन्द्रबाट थप १०८ जना मनोनित गरिने छन् । यसरी महाधिवेशनमा जम्मा २,२६२ जना प्रतिनिधि रहने छन् । ‘घर फर्क’ अभियानमार्फत पूर्व नेकपा एकीकृत समाजवादीबाट फर्किएका तीन जनाले पनि प्रतिनिधि भएका आधारमा सहभागी हुन निवेदन दिएका छन्, जसको टुंगो सचिवालयले गर्ने विभागले जनाएको छ ।
प्रतिनिधि छनौटसम्बन्धी विवाद धनकुटा र ओखलढुंगामा देखिएको थियो । ती जिल्लामा पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन–१३ अनुसार प्रक्रिया नचलाकै कारण केन्द्रले छनौट रद्द गरी पुनः मापदण्डअनुसार चयन गर्न निर्देशन दिएको थियो । अहिले दुबै जिल्लाबाट सर्वसम्मत रूपमा प्रतिनिधि आएको अधिकारीले जानकारी दिए । अन्य तीन जिल्लामा परेका उजुरीको छिनोफानो पनि भइरहेको छ । मापदण्ड नपुगेका केही निर्वाचित प्रतिनिधिका बारेमा समेत छानबिन चलिरहेको र मापदण्ड पूरा नगर्ने कसैलाई पनि कार्ड नबनाइने अधिकारीको भनाइ छ । उनका अनुसार करिब ७० प्रतिशत प्रतिनिधि प्रमाणीकरण भइसकेका छन् ।
महाधिवेशनमा प्रतिनिधिबाहेक सल्लाहकार परिषद्को सहभागिता समेत रहनेछ । परिषद्का ३७६ सदस्यमध्ये २५ जना प्रतिनिधि भएर आइसकेका छन् भने बाँकी ३५१ जना सहभागीका रूपमा बन्द सत्र हलमा प्रवेश पाउने व्यवस्था मिलाइएको छ । यसरी प्रतिनिधि र सहभागीसमेत गरी महाधिवेशनमा जम्मा २,६१३ जना उपस्थित हुनेछन् । उता, प्रतिनिधिमण्डलका लागि परिचयपत्र छाप्ने काम पनि तीव्र गतिमा भइरहेको छ । केन्द्रीय कार्यालयका अनुसार अहिलेसम्म ७० प्रतिशत कार्ड छपाइ सकिएको छ र आगामी २५ गतेभित्र सबै कार्ड तयारी पूरा गरिनेछ ।
