`

महासचिवमा तीन जना दाबेदार हुँदा ‘अप्ठ्यारो’ मा ओली

Nepal One HD २६ मंसिर २०८२ १३:३५
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेको महाधिवेशन नजिकिँदै जाँदा सबैभन्दा ठूलो रस्साकस्सी महासचिव पदमै देखिएको छ । अध्यक्ष केपी शर्मा ओलीले आफ्नो संगठनात्मक टिम मिलाउने प्रयास तीव्र पारे पनि उनको नजिकका तीन शीर्ष नेता–शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ एकै पदमा दाबी गर्दै उभिएपछि उनले सम्हाल्नुपर्ने चुनौती झनै जटिल बनेको छ ।

दशौं महाधिवेशनबाट महासचिव बनेका शंकर पोखरेललाई फेरि दोहोर्‍याउने ओलीकै मूल इच्छा भएको दाबी नेताहरू गर्छन् । संगठनात्मक जोड, कार्यकर्तामाझ पुग्ने र अध्यक्षसँगको निकटताका कारण उनी ओलीको ‘पहिलो रोजाइ’ मानिएको छ । तर पोखरेलको कार्यशैली र गुटगत व्यवहारप्रति असन्तुष्ट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङले खुला रूपमा असमझदारी जनाइरहेका छन् । पोखरेललाई अघि सारिएको खण्डमा उनीहरूले असहयोग गर्न सक्ने जोखिम पनि देखिएको नेताहरु बताउँछन् ।

ओलीको ‘दोस्रो विकल्प’ को रूपमा प्रदीप ज्ञवाली देखिएका छन् । स्कुल विभागमार्फत ६८ जिल्लामा प्रशिक्षण विस्तार, वैचारिक दस्तावेज लेखनमा भूमिका र अध्यक्षसँगको लामो सहकार्यले उनी आफ्नो ‘स्वाभाविक दाबी’ प्रस्तुत गर्दै आएका छन् । तर उनले उपमहासचिव वा उपाध्यक्ष स्वीकार नगर्ने अडान राखेपछि ओलीले सजिलै निर्णय लिन सक्ने अवस्था नरहेको बताइन्छ । २०७७ पुस ५ को प्रतिनिधिसभा विघटनका बेला ज्ञवालीले राखेको आलोचनात्मक न्यून–दूरीका कारण पनि ओली ढुक्क हुन नसकेको बुझिन्छ । यी सबैबीच ज्ञवालीले ओलीलाई भेटेर ‘किन महासचिव हुन नपाउने ?’ भन्ने प्रश्न समेत उठाइसकेका छन् ।

पृथ्वीसुब्बा गुरुङ पनि महासचिवकै दाबी लिएर सक्रिय छन् । पार्टीभित्र संघीयता र पहिचानबारे कडा अभिव्यक्ति दिने उनी संगठनात्मक र वैचारिक तयारीमा उकासिएका नेता मानिन्छन् । तर ओलीले उनलाई उपाध्यक्षतर्फ ‘सेट’ गर्ने लगभग निष्कर्ष निकालिसकेको गुरुङ निकट वृत बताउँछ । महासचिव नदिए ‘अन्तिमसम्म लड्ने’ गुरुङको भनाइले ओलीमाथिको दवाब झनै बढेको छ ।

यी तीनै दाबेदारले आफू योग्य र सक्षम रहेको तर्क राखिरहँदा अध्यक्ष ओलीले भने अहिलेसम्म कसैलाई स्पष्ट वचन दिएका छैनन् । नवौं र दशौं महाधिवेशनमा जस्तै उनले ‘अन्तिम क्षण’ मा नाम घोषणा गर्ने शैली नै अपनाउने अनुमान नेताहरूको छ—अघि नै नाम निकाल्दा ‘रोइकराइ’ बढ्ने भएकाले, उनले निर्णय लुकाएर राख्ने स्रोतहरू बताउँछन् । यसबीच, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव गुरुङ र सचिव पद्मा अर्याललगायत केही पदाधिकारीले ज्ञवालीलाई महासचिव बनाउन जोड दिइरहेको सूचना सार्वजनिक बनेको छ ।

यता, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा प्रतिष्पर्धा गर्ने तयारी बढाएका छन् । उनी आफ्नो प्यानल ओलीको सूची सार्वजनिक भएपछि मात्र बनाउन खोजिरहेको देखिन्छ । यदि असन्तुष्ट नेताहरू तान्न सके, विद्या–ईश्वर समूहले ‘वैकल्पिक टिम’ बनाएर प्रतिष्पर्धा गर्ने रणनीति अघि सार्न सक्छ पार्टीभित्र बढ्दो असन्तुष्टि र प्रतिष्पर्धी आकांक्षालाई व्यवस्थापन गर्न ओलीले पदाधिकारी संख्या नै बढाउने तयारी गरेका छन्–उपाध्यक्ष पाँच र सचिव नौं पुर्‍याउने प्रस्तावसहित । विधान महाधिवेशन भएको तीन महिना नबित्दै फेरि विधान संशोधन गर्न लागिएको पनि यही कारण बताइन्छ ।
महाधिवेशन नजिकिँदै गर्दा च्यासलस्थित पार्टी कार्यालयमा भइरहेका दिनदिनका भेटघाट र गुण्डु निवासमा चल्ने मध्यरातसम्मका छलफलहरूले ओली पक्ष आफ्नो ‘पूरै सेट’ जिताउन कसरी आक्रामक तयारीमा छ भन्ने प्रष्ट देखिन्छ । तर महासचिवका तीन सशक्त दाबेदारबीच सन्तुलन कसरी मिलाइने भन्ने प्रश्न भने एमाले आन्तरिक राजनीतिमा अहिलेको सबैभन्दा ठूलो विवादको केन्द्र बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *