एमाले केन्द्रीय सदस्य भुपेन्द्र थापा पनि सक्रिय राजनीतिबाट बिदा
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सांसद भुपेन्द्रबहादुर थापाले ११ औं महाधिवेशनपछि आफू सक्रिय राजनीतिबाट विदा लिएको घोषणा गरेका छन् । उनी एमालेको नवौं महाधिवेशनदेखि लगातार केन्द्रीय सदस्य थिए । म्याग्दी जिल्ला इञ्चार्ज समेत रहिसकेका थापाले पारिवारिक समस्याका कारण अब सक्रिय भूमिकामा नरहने बताएका हुन् । यद्यपी पार्टीप्रतिका निष्ठा र समर्थन सदैव रहेन समेत थापाले प्रष्ट पारेका छन् ।
थापाले भनेका छन्, ‘यो पार्टीबाट मलाई जिल्ला विकास समितको उपसभापति,प्रतिनिधि सभा सदस्य जस्ता जिम्मेवारी दिएर समाज, जिल्ला र मुलुकको सेवा गर्ने मौका प्राप्त भयो । यस अवसरका लागि पार्टीका आदरणीय नेता कमरेडहरु,कार्यकर्ता कमरेडहरु म्याग्दीका आम जनसमुदायलाई हार्दिक धन्यबाद दिन चाहन्छु । मेरो पारिबारीक समस्याका कारण अब सक्रिय भुमिकामा रहन नसक्ने जानकारी गराउन चाहन्छु । साथै सदैब आन्दोलनप्रतिको निष्ठा र इमानमा कुनै कमि रहने छैन ।’
थापा २०७४ सालमा म्याग्दीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । अनेरास्ववियुबाट राजनीति थालेका थापाले गाउँ कमिटीदेखि जिल्ला र केन्द्रसम्मको कमिटीमा निरन्तर प्रतिनिधित्व गरेका थिए । आजै एमालेका पोलिटव्युरो सदस्य दलवहादुर रानाले पनि सक्रिय राजनीतिाट बिदा लिएको घोषणा गरेका छन् ।
