महाधिवेशन उद्घाटन समारोहमा एमालेले तीन लाख जना उपस्थित गराउने
काठमाडौं । नेकपा एमालेले भोलि (शनिबार) भक्तपुरको सल्लाघारीमा हुने ११ औं महाधिवेशनको उद्घाटन समारोहमा तीन लाख जनालाई सहभागी गराउने घोषणा गरेको छ । एमालेले भक्तपुरको सल्लाघारीमा बनाएको मञ्च अगाडि शुक्रबार पत्रकार सम्मेलन गरेर उद्घाटन समारोहमा ३ लाखको उपस्थिति गराउने घोषणा गरेको हो । पत्रकार सम्मेलनमा जनपरिचालन समितिका संयोजक राजन भट्टराईले तीन लाख उपस्थित रहने दाबी गरे । ‘एमालेले पाँच लाख उतारेछ भन्ने गरी तीन लाखको सहभागिता गराउँछौं । यो एमालेको महाधिवेशन उद्घाटन मात्र होइन राजनीतिक दलप्रति जनताको समर्थन छैन भन्नेलाई जवाफ हुनेछ,’ उनले भने ।
एमालेले महाधिवेशनलाई भयरहित बनाउन कमाण्ड संरचना अनुसार पाँच सय बढी स्वयंसेवक परिचालन गर्ने भएको छ । पत्रकार सम्मेलनमा स्वयंसेवक समिति संयोजक भानुभक्त ढकालले २४ जनसंगठनबाट प्रतिनिधित्व गराएर पाँच सय बढी स्वयंसेवकलाई विशेष ‘ड्रेस कोड’ सहित खटाउने जनकारी दिए । ढकालले भने, ‘यो कार्यक्रम भयरहित ढंगले सम्पन्न गर्नका लागि हामीले २४ वटा जनसंगठनबाट प्रतिनिधित्व गराएर पाँच सय बढी स्वयंसेवक ड्रेस कोड हुनेगरी परिचालन गर्दैछौं ।’
‘पाँच सय स्वयंसेवकभित्र पनि हामीले नेतृत्व कमाण्डको व्यवस्था गरेका छौँ,’ ढकालले भने, ‘प्रत्येक १० जना बराबर एक कमाण्डरको संरचनाबाट त्यो काम गरेका छौँ ।’ त्यस्तै महाधिवेशनपछिका कार्यक्रमलाई व्यवस्थित बनाउन खुला संरचनामा १० हजार स्वयंसेवक पनि परिचालन गर्ने छन् । ‘भोलिको कार्यक्रम व्यवस्थित गर्नका लागि हामीले १० हजार स्वयंसेवक परिचालन गर्ने कार्यक्रम बनाएका छौँ,’ ढकालले भने । यी १० हजार स्वयंसेवकहरू विभिन्न जनसंगठनमार्फत परिचालित हुनेछन्। त्यसमा अनेरास्ववियु, युवा संघ र जीफन्टलगायत हुनेछन् ।
महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आउनेहरूमध्ये पश्चिमतर्फ आउनेलाई गठ्ठाघरसम्म गाडीमा र त्यसपछि जुलुसहित उद्घाटनस्थलमा पुग्ने व्यवस्था मिलाएको उनले जानकारी दिए । पूर्व तर्फबाट आउनेहरू जगतेसम्म गाडीमा आउने र त्यसपछि जुलुससहित पश्चिमतर्फ आउने छन् ।
मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले नेपालमा अहिलेसम्म नभएको मञ्च तयार भएको जानकारी दिए । ३ किलोमिटर वरपरसम्म सुन्न सकिने गरी साउण्ड सिस्टमको व्यवस्था गरिएको उनले बताए । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले ९९ रोपनी क्षेत्रफलमा फैलिएको विशाल चौरमा हुने उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । शनिबार मध्यान्ह ओलीले महाधिवेशनको उद्घाटन गर्नेछन् । बन्द सत्र भने काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुनेछ ।
