`

च्यासलमा ‘अन्तिम र निर्णायक’ बैठक, थापागाउँमा ‘मार्चपास’

Nepal One HD २६ मंसिर २०८२ १६:००
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको पूर्व सन्ध्यामा पार्टीभित्र शक्ति–सन्तुलन र नेतृत्व चयनका लागि तीव्र रस्साकस्सी सुरु भएको छ । भोलिदेखि भक्तपुर सल्लाघारीमा सुरु हुने महाधिवेशनलाई लक्षित गर्दै आज च्यासलस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय सचिवालय बैठक निर्णायक मानिएको छ । पाँच वर्षअघि चितवन सौराहामा गठन गरिएको सचिवालयको यो अन्तिम बैठक पनि हो ।

महाधिवेशन नजिकिँदै जाँदा पदाधिकारी पदमा कडा प्रतिष्पर्धा बढेपछि विधान संशोधनका एजेण्डाले बैठकको मूल स्वरूप तय गरेको छ । भदौमा विधान महाधिवेशनमार्फत संशोधन गरिएको दस्तावेजलाई फेरि खोल्दै पदाधिकारी थप्ने, स्थायी कमिटी पुनः ब्युँताउने, केन्द्रीय कमिटीको आकार बढाउने र छनोट प्रक्रियाका लागि नयाँ क्लस्टर थप्ने प्रस्ताव अघि सारिएको छ । तर ईश्वर पोखरेल समूह भने पदाधिकारी थप्ने योजनासँग सहमत छैन । यदि संशोधन आवश्यक नै भए २ कार्यकाल सीमा र ७० वर्षको प्रावधान ज्यूँका त्यूँ राखिनुपर्ने उनीहरूको अडान छ ।

यता, पोखरेलले सचिवालयमा बुझाएको छुट्टै दस्ताबेज महाधिवेशनमा पेश गर्ने कि नगर्ने भन्ने विषयमा पनि बैठकमा गम्भीर बहस चल्ने बताइएको छ । महाधिवेशनलाई सहमतिमार्फत अघि बढाउने कि प्रत्यक्ष प्रतिष्पर्धातर्फ धकेल्ने भन्ने दिशानिर्देशन यही बैठकले दिने अपेक्षा गरिएको छ ।
उता, पार्टीको आन्तरिक राजनीति चर्किदै जाँदा सडकमा पनि शक्ति प्रदर्शन सुरु भएको छ । अध्यक्षका दावेदार केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै पक्षका नेता–कार्यकर्ताहरू आ–आफ्ना केन्द्रमा सक्रिय देखिएका छन् । पोखरेल पक्ष थापागाउँस्थित मदन भण्डारी फाउन्डेशनको सम्पर्क कार्यालयमा रणनीति बनाउँदै रहेको छ भने ओली पक्ष भक्तपुर गुन्डुस्थित अध्यक्ष निवासमा जुटिरहेका छन् ।

च्यासलस्थित पार्टी कार्यालयमा दुवै धारका प्रभावशाली नेताहरू प्रतिनिधिहरू आफ्नो पक्षमा पार्न दौडधूपमै छन् । यसबीच इतर पक्षका युवा कार्यकर्ताहरूले थापागाउँदेखि च्यासलसम्म ‘रेड मार्च’ आयोजना गरेका छन् । रातो क्याप लगाएर नारा–जुलुससहित अघि बढेको यो मार्चले नेतृत्व प्रतिस्पर्धामा वैकल्पिक धारको उपस्थितिलाई देखाएको निरिक्षकहरूको भनाइ छ । महाधिवेशनको उद्घाटन सत्र एक दिन मात्रै बाँकी रहेको अवस्थामा च्यासलको बैठक र सडकमा देखिएको शक्ति प्रदर्शनले एमालेभित्रको आगामी नेतृत्व–संरचना कस्तो हुने हो भन्ने बारे राजनीतिक वृतमा ठूलो चासो बढाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *