एमालेले बढाएन पदाधिकारी संख्या, विधान संशोधन पनि नगर्ने
काठमाडौं । नेकपा एमालेले आगामी नेतृत्व चयनका लागि विधान संशोधन नगरी भदौमा पारित गरिएको विधानमै आधारित संरचना कायम राख्ने निर्णय गरेको छ । शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयनदेखि पदाधिकारी संख्या निर्धारणसम्म सबै प्रक्रिया गोदावरीमा पारित विधानअनुसार नै सञ्चालन हुने बताए।
भदौ २०–२२ मा सम्पन्न दोस्रो विधान महाधिवेशनले पदाधिकारी संख्या १९ बाट घटाएर १५ मा सीमित गरेको थियो । सोही संरचना अन्तर्गत वरिष्ठ उपाध्यक्षको पद नराखी तीन उपाध्यक्ष मात्र रहने व्यवस्था गरिएको छ । यस्तै, स्थायी कमिटी खारेज गरी केन्द्रीय कमिटी २५१ सदस्यीय बनाउने संशोधन पनि त्यही महाधिवेशनले स्वीकृत गरेको थियो।
हालका दिनमा आकांक्षीहरूको संख्या बढ्दै जाँदा व्यवस्थापन चुनौती देखिएको भन्दै विधान फेरबदलको सम्भावनाबारे पार्टीभित्र चर्चा चलेको थियो । तर, ईश्वर पोखरेल समूहले संशोधनको आवश्यकता नरहेको अडान राख्दै आएको थियो । यही सन्दर्भमा ज्ञवालीले तीन महिनाअघि मात्रै संशोधित गरिएको विधानलाई फेरि तत्काल परिवर्तन गर्नु व्यवहारिक नदेखिने ठहर भएको बताए।
सचिवालय बैठकले महाधिवेशनमा सहभागी हुने १०८ प्रतिनिधि मनोनयन गर्ने निर्णय पनि गरेको छ। महाधिवेशनमा निर्वाचित र पदेन सदस्यहरूको पाँच प्रतिशत बराबर प्रतिनिधि मनोनयन गर्ने प्रावधानअनुसार यो संख्या तोकिएको हो । मनोनयन गरिएका प्रतिनिधिहरूको नामावली भोलि सार्वजनिक गरिने जनाइएको छ।यससँगै आगामी महाधिवेशनमा १५ सदस्यीय पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटीको संरचनामै नेतृत्व निर्माण हुने सुनिश्चित भएको छ।
