`

सल्लाघारीबाट एमालेको सन्देश र एमालेलाई अरु दलहरुले दिएको सन्देश

Nepal One HD २७ मंसिर २०८२ २०:५३
नेकपा एमाले

काठमाडौं । भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा सम्पन्न नेकपा एमालेको ११औं महाधिवेशन उद्घाटन समारोह केवल आन्तरिक कार्यक्रममा सीमित रहेन, बरु पछिल्लो जेनजी आन्दोलनपछिको नेपाली राजनीतिमा एमाले कहाँ उभिएको छ र अन्य दलहरूले एमाले तथा समग्र राजनीतिको भविष्यलाई कसरी हेरेका छन् भन्ने सन्देश दिने साझा मञ्च बन्यो ।

जेनजी आन्दोलनपछि पहिलो पटक ठूलो राजनीतिक कार्यक्रम आयोजना गरेको एमालेले हजारौं कार्यकर्ता उतारेर आफ्नो जनाधार कमजोर नभएको सन्देश दिन खोज्यो । दुई लाख कार्यकर्ता उतार्ने दाबी गरिए पनि उद्घाटनस्थलमा करिब ४० देखि ५० हजारको सहभागिता रहेको बताइन्छ । यद्यपि, आन्दोलनपछि दलहरू रक्षात्मक अवस्थामा पुगेको भनिएको बेला यति ठूलो उपस्थिति आफैंमा एमालेका लागि मनोवैज्ञानिक उपलब्धि मानियो ।

अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्बोधनमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई केन्द्रमा राख्दै त्यसलाई ‘राज्यको मेरुदण्ड भाँच्ने षड्यन्त्र’ को संज्ञा दिए । उद्घाटन समारोहमा देखाइएको भिडिओमार्फत सिंहदरबार, संसद र सर्वोच्च अदालतमा आगजनीका दृश्य प्रस्तुत गर्दै ओलीले लोकतान्त्रिक प्रक्रिया भत्काएर शून्यता सिर्जना गर्ने गम्भीर प्रयास भएको दाबी गरे । उनका अनुसार सरकार परिवर्तन संसद वा निर्वाचनमार्फत सम्भव हुँदाहुँदै पनि अराजक बाटो रोजिनु योजनाबद्ध थियो ।

ओलीको भाषणले एमाले जेनजी आन्दोलनबाट भयभीत नभएको, बरु त्यसलाई राजनीतिक रूपमा ‘चिरेर जाने’ तयारीमा रहेको संकेत दियो । उनले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गरे पनि, पार्टीलाई होच्याउने वा समाप्त पार्ने चाहना बोकेर अघि नआउन चेतावनीपूर्ण अभिव्यक्ति दिए । विगतमा एमालेमाथि वृद्धवृद्धा विरोधी, मधेस विरोधी, क्रान्ति विरोधी जस्ता आरोप लागे पनि ती सबै पार गर्दै आएको स्मरण गराउँदै उनले अहिलेको ‘जेनजी विरोधी’ आरोप पनि चिर्ने दाबी गरे ।

महाधिवेशनले पार्टीभित्रको एकता पनि मुख्य सन्देशका रूपमा अघि सारेको देखियो । ओलीले ‘एघार बन्न दुई वटा एक चाहिन्छ’ भन्ने प्रतीकात्मक उदाहरण दिँदै एमालेभित्र हात मिलाउने र मन जोड्ने आवश्यकता औंल्याए । उल्लेखनीय रूपमा, उनले अन्य दल वा नेतामाथि कटाक्ष नगरी एकताको भाषामा जोड दिए । साथै, एमाले चुनावका लागि तयार रहेको सन्देश पनि महाधिवेशनबाट प्रवाहित भयो । महासचिव शंकर पोखरेलले स्वागत मन्तव्यमा संसद पुनर्स्थापनाको विषय उठाएनन् भने ओलीले निर्वाचनका लागि पार्टी तयार भए पनि तोकिएको मितिमा चुनाव नहुने दाबी गर्दै संसद पुनस्र्थापनाको संकल्पलाई प्राथमिकता दिनुपर्ने बताए। यसले एमाले पुनस्र्थापना र निर्वाचन दुवै विषयलाई सँगसँगै लैजान खोजिरहेको संकेत गर्छ ।

महाधिवेशनमा शुभकामना दिन पुगेका अन्य दलका नेताहरूले पनि आ–आफ्नो दृष्टिकोण राखे । नेपाली कांग्रेसका कार्यवहाक सभापति पूर्णबहादुर खड्काले कांग्रेस–एमाले सहकार्यको इतिहास स्मरण गर्दै लोकतन्त्रमाथि संकट आउँदा लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताए । जेनजी आन्दोलनले देखाएको असन्तोषलाई गम्भीरतापूर्वक समीक्षा गर्दै गल्ती नदोहोर्‍याउने संकल्पसहित जनतामा जानुपर्ने उनको जोड थियो । उनले नयाँ दल र जेनजी पुस्तालाई समेत लोकतान्त्रिक प्रक्रियामा समेटेर अघि बढ्ने सन्देश दिए ।

नेकपा माओवादी केन्द्रका तर्फबाट देव गुरुङले कम्युनिस्ट आन्दोलन विघटित अवस्थामा रहेको उल्लेख गर्दै फेरि एकताबद्ध हुनुको विकल्प नरहेको बताए ।संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय स्वाधीनता गम्भीर चुनौतीमा रहेको उनको ठम्याइ थियो । यस पृष्ठभूमिमा एमाले एक्लै हिँडेर गन्तव्यमा पुग्न नसक्ने संकेत गर्दै कम्युनिस्ट शक्तिहरूबीच सहकार्य र एकताको पहल आवश्यक रहेको सन्देश दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जेनजी आन्दोलन किन भयो भन्ने मूल कारणमा सबै पुराना दलले जिम्मेवारी लिनुपर्ने बताए । उनले संसद पुनस्र्थापनाभन्दा निर्वाचनमा केन्द्रित हुन एमालेको ध्यान जानुपर्ने सुझाव दिए । सुशासन, दलीयकरणको अन्त्य र समयमै निर्वाचनमार्फत लोकतन्त्रलाई ‘लिग’ मा ल्याउन एमालेले सकारात्मक भूमिका खेल्ने अपेक्षा रास्वपाको रहेको उनले स्पष्ट पारे ।

अन्य दलका नेताहरूले पनि सहकार्यका फरक–फरक सम्भावनाहरू औंल्याए । नेत्रविक्रम चन्द ‘विप्लव’ ले सबै वर्ग, समुदाय र नयाँ पुस्ताको चाहना सम्बोधन गर्दै आन्दोलन, राष्ट्रिय स्वाधीनता र नयाँ नेपाल निर्माणमा सहकार्य गर्न तयार रहेको बताए । लोसपाका महासचिव सुरेन्द्र झाले संविधान संशोधन अनिवार्य भइसकेको दाबी गर्दै यसमा एमालेले अगुवाइ गर्न सक्ने र आफूहरूको साथ रहने बताए । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जेनजी आन्दोलनका नाममा गणतन्त्रवादी शक्तिमाथि भएको प्रहारलाई स्मरण गर्दै विगतका कमजोरीहरूको गम्भीर समीक्षा आवश्यक रहेको धारणा राखे ।

समग्रमा, सल्लाघारीको महाधिवेशन एमालेका लागि शक्ति प्रदर्शन मात्र रहेन, जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक तरलतामा आफूलाई अझै केन्द्रीय शक्तिका रूपमा प्रस्तुत गर्ने प्रयास बन्यो । साथसाथै, अन्य दलहरूको सन्देशले पनि वर्तमान संकटबाट बाहिर निस्कन सहकार्य, आत्मसमीक्षा र लोकतान्त्रिक प्रक्रियाप्रतिको प्रतिबद्धता अपरिहार्य रहेको स्पष्ट पारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *