`

ओलीको उम्मेदवार सूची ‘फाइनल’, पोखरेल पक्षकाे पनि सबै पदमा ‘टक्कर’ दिने तयारी

Nepal One HD २९ मंसिर २०८२ ७:४४
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन निर्णायक मोडमा पुगेसँगै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह खुलेर आमने–सामने भएका छन् । पुस १ गते हुने निर्वाचनका लागि तालिका सार्वजनिक भएसँगै दुवै समूहले पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारको सूची लगभग टुंग्याएका छन् ।

अध्यक्ष ओलीले आफ्नो प्यानलका उम्मेदवारको सूची तयार पारिसकेको एमाले नेताहरूको दाबी छ । आकांक्षी नेताहरूको विवरण संकलन गर्न विश्वासपात्र नेतालाई जिम्मा दिएका ओलीले आइतबार बेलुका अन्तिम सूचीमा सहमति जुटाएको बताइन्छ । समन्वय संयन्त्रले उम्मेदवारी दिन चाहने र नचाहने नेताहरूको नामावली बनाएर शनिबार राति नै ओलीलाई बुझाइसकेको थियो ।

आफ्नो समूहका नेताहरू व्यवस्थापन गर्न सहज बनाउन ओलीले विधान नै संशोधन गराएका छन् । विधान महाधिवेशनले घटाएर १५ बनाएको पदाधिकारी संख्या फेरि बढाएर १९ पु¥याइएको छ भने केन्द्रीय समिति २५१ बाट ३०१ सदस्यीय बनाइएको छ । सचिवालयमा विरोध भए पनि ओलीले केन्द्रीय कमिटी बैठकमार्फत बहुमत प्रयोग गरी यो प्रस्ताव पास गराएका थिए । यही निर्णयपछि उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेका थिए भने वरिष्ठ उपाध्यक्ष पोखरेलले विधान संशोधन अस्वीकार गर्दै अध्यक्षमा उम्मेदवारी दिने संकेत दिएका थिए ।

ओली पक्षका अनुसार महत्वपूर्ण पदमा हालका पदाधिकारीहरूलाई दोहोर्‍याउने रणनीति लिइएको छ । तीन उपाध्यक्ष र महासचिव दोहोरिने लगभग निश्चित भएको बताइन्छ । महासचिवका आकांक्षी दुई नेतालाई उपाध्यक्षमा व्यवस्थापन गर्ने र सचिवमध्येबाट उपमहासचिव बनाउने योजना छ । भक्तपुरको गुन्डुस्थित ओली निवासमा जारी छलफलमा उपाध्यक्षमध्ये विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरू बराल र पृथ्वीसुब्बा गुरुङको नाम लगभग फाइनल भइसकेको स्रोतले जनाएको छ ।

बाँकी एक उपाध्यक्षमा प्रदीप ज्ञवाली वा शंकर पोखरेलमध्ये एकलाई अघि सार्ने तयारी छ । महासचिवमा ओलीको प्राथमिकता शंकर पोखरेल देखिएका छन् । उपमहासचिवमा रघुवीर महासेठ, विष्णु रिमाल र पद्मा अर्यालको नाम अगाडि आएको छ । सचिव संख्या ९ पुर्‍याइएपछि प्रदेशगत सन्तुलन मिलाउने प्रयास भएको छ । कोशीबाट शेरधन राई र भानुभक्त ढकाल, मधेसबाट ज्वालाकुमारी साह, बागमतीबाट महेश बस्नेत, गण्डकीबाट खगराज अधिकारी, लुम्बिनीबाट छविलाल विश्वकर्मा, कर्णालीबाट यमलाल कँडेल र सुदूरपश्चिमबाट लेखराज भट्ट सचिव बन्ने सम्भावना बलियो देखिएको छ ।

उता पोखरेल समूहले पनि अब सबै पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । सुरुवातमा ओलीको सूची हेरेर रणनीति बनाउने सोचमा रहेको यो समूह अब एकै पटक मनोनयनमा जाने तयारीमा छ । थापागाउँस्थित कार्यालयमा छलफलमा जुटेको पोखरेल पक्षमा महासचिवका लागि सुरेन्द्र पाण्डेको सम्भावना बलियो छ भने गोकर्ण विष्टलाई उपाध्यक्षमा अघि सार्ने लगभग तय भएको छ ।

योगेश भट्टराई उपमहासचिव उठ्ने पक्का भएको छ । सचिवतर्फ गोकुल बाँस्कोटा, ठाकुर गैरे, कर्ण थापा, विनोद ढकाल र विन्दा पाण्डे आकांक्षी छन् । पदाधिकारी संख्या बढेपछि पोखरेल समूहलाई उम्मेदवार व्यवस्थापन सहज भएको बताइन्छ । यही अवसर प्रयोग गर्दै ओली पक्षका असन्तुष्ट नेतालाई आफूतिर तान्ने रणनीति पनि यो समूहले लिएको छ । केही नेताहरू चाँडै खुल्ने सम्भावना रहेको पोखरेल पक्षको दाबी छ ।

एमाले केन्द्रीय निर्वाचन आयोगले सोमबार बिहान ९ बजेदेखि उम्मेदवारी फाराम वितरण र दिउँसो १ः३० बजेसम्म दर्ताको समय तोकेको छ । अन्तिम नामावली बेलुका ६ बजे सार्वजनिक हुनेछ । प्रक्रियागत रूपमा दुवै समूह उम्मेदवारी दर्तातर्फ अघि बढ्दै गर्दा एमाले महाधिवेशन अब स्पष्ट रूपमा ओली र पोखरेलबीचको प्रतिस्पर्धामा रूपान्तरण भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *