`

महाधिवेशन फुट्नका लागि होमवर्क होइन : पृथ्वीसुब्बा गुरुङ

Nepal One HD २९ मंसिर २०८२ १५:०३
नेकपा एमाले

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले महाधिवेशनमा हुने प्रतिष्पर्धालाई लिएर पार्टी नफुट्ने दाबी गरेका छन् । सोमवार भृकुटीमण्डपमा जारी पार्टी महाधिवेशनको बन्द सत्रस्थलमा पार्टीको संस्थापन पक्षबाट उपाध्यक्षको उम्मेदवारी दिने तयारी गरिरहेका उनले सो टिप्पणी गरेका हुन् । उपमहासचिव गुरुङले एमाले प्रतिष्पर्धामा विश्वास गर्ने पार्टी भएकाले पराजित भएकाहरुले पार्टी छोडने काम नगर्न जिकिर गरे । उनले पार्टीलाई अझ सशक्त, अझ सुदृढ बनाउनका लागि नेतृत्व चयन प्रतिष्पर्धाको आधारमा गर्ने निर्णय गरिएको पनि स्पष्ट पारे ।

निवर्तमान उपमहासचिव गुरुङले भने, ‘प्रतिष्पर्धामा विश्वास गर्ने पार्टी हो । प्रतिष्पर्धामा विश्वास गर्ने हाम्रा नेताहरु हुुनुहुन्छ । यो फुट्नका लागि गरिएको होमवर्क होइन । यो त पार्टीलाई अझ सशक्त, अझ सुदृढ बनाउनका लागि यो गरिएको होमवर्क हो । को सक्षम नेता हो, कार्यकर्ताले मन पराएको नेता हो ? उनीहरुले विश्वास गरेको नेता को हो ? भन्ने कुराको कसी लगाउने थलो महाधिवेशन हो । हामी त्यही कसीमा उभिन्छौ । यो कसीबाट बाहिर निस्कदाखेरी जो विजयी भएर आउँछ, उसले पार्टीलाई सुदृढ ढंगले चलाउने गरेर उनीहरुले जितेका हुन्छन् । बाँकी जो पराजित हुन्छन, पराजित भएकाले पार्टी छोड्नु पर्छ भन्ने हामी मानसिकता राख्दैनौ । त्यसकारण उनीहरुको पनि भावना र विचारको सम्मान गर्दै हामी आफैभित्रको सत्तापक्ष र प्रतिपक्षको भावना नराखि सबै मिलेर अघि बढ्छौँ ।’ उपमहासचिव गुरुङले निर्वाचनमा पराजित हुनेहरुलाई समेटेर उनीहरुको भावनाको कदर गर्दै पार्टी अघि बढ्ने समेत बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *