२९ वर्षमै एमालेको निर्विरोध केन्द्रीय सदस्य : यसरी सम्भव भयो रौनितको राजनीतिमा उदय
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट सर्लाहीका रौनित साह २९ वर्षकै उमेरमा पार्टीको केन्द्रीय सदस्यमा निर्विरोध चयन भएका छन् । मधेश प्रदेशबाट ४० वर्षमुनिका युवाको कोटामा निर्विरोध निर्वाचित साह केन्द्रीय कमिटीमा पुग्ने सबैभन्दा कान्छा सदस्यमध्ये परेका छन् । २०५२ साल माघ २८ गते जन्मिएका साह पछिल्ला १२–१३ वर्षदेखि एमाले संगठनमा सक्रिय रहेको दाबी गर्छन् । उनी तीन कार्यकाल जिल्ला कमिटी सदस्य, हाल सर्लाही जिल्ला कमिटी अध्यक्ष तथा भूमि आयोग सर्लाहीका सदस्य समेत हुन् । भारतको बैंग्लोरबाट बीबीए अध्ययन गरेका साह हाल पूर्ण रूपमा पार्टी राजनीतिमै संलग्न रहेको बताउँछन् ।
एमालेको नयाँ विधानअनुसार केन्द्रीय कमिटीमा ४० वर्षमुनिका १५ युवालाई समेट्ने व्यवस्था गरिएको छ । यही व्यवस्थाअन्तर्गत मधेसी युवाबाट सर्लाहीका रौनित साह र महोत्तरीका अमरकुमार यादव निर्विरोध चयन भएका हुन्। तर साहको उदयसँगै परिवारवादको आरोप पनि लाग्ने गरेको छ । उनी एमाले सर्लाही जिल्ला कमिटी अध्यक्ष राजनारायण साहका छोरा हुन् । गत मंसिर १४ गते महाधिवेशन प्रतिनिधि छनोटका क्रममा जिल्लामा असन्तुष्टि देखिएको थियो । पार्टी निर्माणमा लामो समयदेखि योगदान गरेका केही सक्रिय नेता–कार्यकर्तालाई पाखा लगाएर अध्यक्ष साहले आफ्नै परिवारका सदस्यलाई अघि सारेको आरोप एमालेकै नेताहरूले लगाएका छन् ।
अनेरास्ववियुका केन्द्रीय सचिव तथा प्रवक्ता समिमबाबु पठानले आफू ०६७ सालदेखि विद्यार्थी आन्दोलनमार्फत पार्टीमा सक्रिय रहे पनि महाधिवेशन प्रतिनिधि बन्न नपाएको गुनासो गरेका छन् । प्रतिनिधि छनोटमा परिवारवाद देखिएको भन्दै उनले त्यसबेला व्यापक असन्तुष्टि रहेको बताएका छन् ।
आरोपबारे प्रतिक्रिया दिँदै रौनित साहले आफू बुवाको कृपाले नभई पार्टीभित्रको सक्रियता र सिफारिसकै आधारमा केन्द्रीय सदस्य बनेको दाबी गरेका छन् । ‘क्षेत्रका युवाहरूले नै मलाई प्रतिनिधिमा सिफारिस गरेका हुन्,’ उनले भने, ‘कसैलाई अवसर नपर्नु मेरो दोष होइन ।’
एकातिर एमालेले युवालाई नेतृत्वमा ल्याउने सन्देश दिएको छ भने अर्कोतिर रौनित साहको चयनले पार्टीभित्र योग्यता बनाम पहुँचको बहस पुनः सतहमा ल्याएको छ । २९ वर्षमै केन्द्रीय कमिटीमा पुगेका साहको राजनीतिक यात्रा आगामी दिनमा संगठन सुदृढीकरणतर्फ जान्छ कि आलोचनालाई पुष्टि गर्ने दिशामा, त्यो भने उनको काम र भूमिकाले नै तय गर्नेछ ।
