एमाले नेतृत्वमा ओलीको वर्चस्व कायमै, १९ पदाधिकारीमध्ये १७ संस्थापन पक्षकै
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै पार्टीभित्रको शक्ति सन्तुलन स्पष्ट रूपमा अध्यक्ष केपी शर्मा ओलीको पक्षमा गएको छ । प्यानलगत प्रतिस्पर्धाबाट भएको निर्वाचनमा १९ सदस्यीय पदाधिकारीमध्ये १७ जना ओली नेतृत्वको संस्थापन पक्षबाट निर्वाचित भएका छन् भने ईश्वर पोखरेल पक्षबाट दुई जना मात्र विजयी भएका छन् ।
अध्यक्ष पदमा केपी शर्मा ओलीले आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पराजित गर्दै तेस्रो कार्यकालका लागि पार्टी नेतृत्व सम्हालेका छन् । महाधिवेशनमा कुल २२६३ प्रतिनिधि रहेकामा ३६ जनाले मतदानमा सहभागिता जनाएनन् । अध्यक्ष पदमा ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले ५६३ मतमा सीमित हुन पुगे । मत परिणामले महाधिवेशनअघि देखिएको आन्तरिक प्रतिस्पर्धा निर्वाचन परिणाममा भने एकपक्षीय बनेको देखिएको छ । महासचिव पदमा पनि कडा प्रतिस्पर्धा भए तापनि अन्ततः संस्थापन पक्षकै उम्मेदवार शंकर पोखरेल विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धीलाई दुई सयभन्दा बढी मतले पछि पार्दै पार्टीको सांगठनिक जिम्मेवारी हात पारेका हुन् । यो परिणामले पार्टीको नीति, संगठन र आगामी राजनीतिक दिशा ओली समूहकै नियन्त्रणमा रहने संकेत दिएको छ ।
यद्यपि सम्पूर्ण पदाधिकारी संस्थापन पक्षकै हुन भने सकेनन् । उपाध्यक्ष पदमा गोकर्ण विष्ट र उपमहासचिव पदमा योगेश भट्टराई ईश्वर पोखरेल नेतृत्वको संस्थापन इतर प्यानलबाट निर्वाचित भएका छन् । यी दुई बाहेक अन्य सबै पदाधिकारी ओली पक्षका उम्मेदवार विजयी भएका हुन् ।
महाधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारीहरूले पार्टीभित्र देखिएको मतभेदलाई कसरी व्यवस्थापन गर्छन् र संगठनलाई एकताबद्ध रूपमा अघि बढाउन कस्तो भूमिका खेल्छन् भन्ने विषय आगामी दिनमा चासोको विषय बनेको छ । चुनावी परिणामले एमालेभित्र ओलीको राजनीतिक प्रभाव अझ सुदृढ भएको देखिए पनि अल्पमतमा परेको पक्षलाई समेट्दै अघि बढ्नु नयाँ नेतृत्वका लागि मुख्य चुनौतीका रूपमा रहने देखिन्छ।
यस्तो बन्यो पदाधिकारी टिम
अध्यक्ष – केपी शर्मा ओली ।
उपाध्यक्ष – पृथ्वी सुब्बा गुरुङ, बिष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट, रघुजी पन्त ।
महासचिव –शंकर पोखरेल ।
उपमहासचिव
लेखराज भट्ट
रघुवीर महासेठ
योगेश भट्टराई
सचिव
महेश बस्नेत
पद्माकुमारी अर्याल
छविलाल विश्वकर्मा
शेरधन राई
हिक्मत कुमार कार्की
खगराज अधिकारी
यामलाल कँडेल
राजन भट्टराई
भानुभक्त ढकाल
