`

अध्यक्षमा पराजयपछि पोखरेल : एमालेमा ‘नियन्त्रण र सन्तुलन’ अपरिहार्य

Nepal One HD ३ पुष २०८२ १६:०७
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्ष पदमा पराजित नेता ईश्वर पोखरेलले पार्टी सञ्चालनमा ‘नियन्त्रण र सन्तुलन’ को सिद्धान्तलाई संस्थागत रूपमा निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका छन् । अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएपछि सामाजिक सञ्जाल र प्रेस विज्ञप्तिमार्फत प्रतिक्रिया दिँदै उनले विजयी उम्मेदवार तथा सम्पूर्ण मतदातालाई बधाई र शुभकामना दिएका हुन् ।

पोखरेलले महाधिवेशनका क्रममा आफूले उठाएका मुद्दाहरू—जनताको बहुदलीय जनवादको मर्मअनुसार सामूहिक नेतृत्व, विधि र पद्धतिमा आधारित पार्टी सञ्चालन तथा लोकतान्त्रिक अभ्यास–अब थप बहस र छलफलमार्फत नयाँस्तरमा अघि बढ्ने विश्वास व्यक्त गरे । उनले पार्टीलाई सही र लोकतान्त्रिक ढंगले सञ्चालन गर्न ‘नियन्त्रण र सन्तुलन’ को सिद्धान्त अनिवार्य रहेको उल्लेख गरेका छन् ।

अध्यक्ष पदमा पराजित भए पनि एमालेको देशभक्तिपूर्ण, लोकतान्त्रिक र समाजवादको आधार निर्माण गर्ने अभियानमा आफ्नो संलग्नता अटुट रहने पोखरेलको भनाइ छ । साथै, आफूलाई विश्वासको मत प्रदान गर्ने मतदाताप्रति उनले आभार प्रकट गरेका छन् । मतपरिणामअनुसार कुल २,२२७ मतमध्ये केपी शर्मा ओलीले १,६६३ मत प्राप्त गरी विजयी भए भने पोखरेलले ५६४ मत हासिल गरेका थिए। पराजयलाई स्वाभाविक प्रतिस्पर्धाको परिणामका रूपमा स्वीकार गर्दै पोखरेलले पार्टी एकता, आन्तरिक लोकतन्त्र र संस्थागत प्रक्रियालाई सुदृढ बनाउने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

पोखरेको भनाइ जस्ताको तस्तै

नेकपा ( एमाले) को एघारौं राष्ट्रिय महाधिवेशन ( २०८२ मंसीर २७– पुस ३ ) सम्पन्न भएको छ । महाधिवेशनमा निर्वाचित अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय कमिटीका सदस्य तथा केन्द्रीय निकायमा निर्वाचित कमरेडहरूमा बधाइ तथा कार्यकालको सफलताको शुभकामना ! महाधिवेशनमा योगदान पुर्याउनु हुने महाधिवेशनका प्रतिनिधि कमरेडहरूलाई धन्यवाद व्यक्त गर्दछु ।

प्रतिस्पर्धामा यसपटक म विजयी बन्न नसके पनि मेरो अध्यक्ष पदमा भएको उमेदवारीप्रति आफ्नो विश्वासको मत प्रदान गर्नु हुने मतदाता प्रतिनिधि कमरेडहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु । साथै, महाधिवेशनको दौरानमा उठाएका मुद्दाहरू–जनताको बहुदलीय जनवादको प्रकाशमा पार्टीमा सामूहिक नेतृत्व, विधि र पद्धति अनुसार पार्टी सञ्चालन, पार्टीलाई सही र लोकतान्त्रिक तरिकाले संचालन गर्न ‘नियन्त्रण र सन्तुलन ‘ को सिद्धान्तको पालन आदि महत्वपूर्ण विषयहरूले बहस र छलफलले नयां स्तरमा निरन्तरता पाउने कुरामा विश्वास व्यक्त गर्दछु ।

आफू विजयी बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा मेरो सहभागिता र संलग्नता अटूट रूपमा रहिरहने कुरा विश्वास दिलाउन चाहान्छु । नेकपा (एमाले) को निर्वाचित नयां नेतृत्वले आफ्नो कार्यकाल सफलताका साथ सम्पन्न गर्न सकोस्–हार्दिक शुभकामना व्यक्त गर्दछु ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *