ओलीले भने–एमालेमा गुट सकियो
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव लड्दा बनेको प्यानल महाधिवेशन सकिएसँगै सिद्धिएको बताएका छन् । नयाँ निर्वाचित केन्द्रीय कमिटी एकढिक्का रहेको उनले बताए । ११ औं महाधिवेशनपछिको पहिलो केन्द्रीय कमिटी बैठकलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले चुनाव लड्दा बनेको प्यानल चुनाव सकिएसँगै सिद्धिएको बताएका हुन् । ‘हिजो चुनावमा लड्दा प्यानल भएर पनि लडियो होला, परिणाम आएसँगै सिद्धियो । यो प्यानल र त्यो प्यानल होइन, देश हाँक्ने केन्द्रीय कमिटी हो । एकजुट छ, एकढिक्का छ,’ ओलीले भने, ‘यो पक्ष, उ पक्ष, यो प्यानल उ प्यानल छैन । यही भावनाका साथ यही दृढताका साथ हामी अगाडि बढ्छौं ।’
एमालेभित्र ओलीको तानाशाही र अधिनायकवाद छ, आलोचनात्मक चेत नभएकाहरू झोले भन्छन् भनेर गरिएको प्रचारबाट प्रभावित हुनु नपर्ने उनले बताए । ‘उल्क्याउँछन्, त्यहाँ बोल्नै पाइँदैन । त्यहाँ ओलीको अधिनायकवाद, तानाशाही चल्छ । यस्ता हल्ला चलाउँछन् । आलोचनात्मक चेत हराएका झोले एमालेमा बस्छन्, केपी ओलीले विरोध गर्न सक्दैन भन्छन्,’ ओलीले भने, ‘नेतृत्वप्रति अनास्था फैल्याउन उचाल्ने कम गर्छन्, यस्तो कुराबाट हामी प्रभावित हुनु हुँदैन ।’ ओली बिहीबारमात्रै ईश्वर पोखरेललाई पराजित गरेर अध्यक्षमा लगातार तेस्रोपटक निर्वाचित भएका हुन् । अहिले एमालेको नव निर्वाचित केन्द्रीय कमिटीको बैठक चलिरहेको छ ।
