`

‘केपी ओलीले विरोध गर्नुपर्ने काम नै गर्दैन’

Nepal One HD ४ पुष २०८२ १७:१९
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि विरोध हुनेगरी कुनै कामै नगरेको दावी गरेका छन् । नव निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जारी बैठकमा ओलीले सम्बोधन गर्दै गर्दा एकजना नेताको मोबाइल फोन बजेपछि ओलीले झपार्दै भने– ‘म अनुशासनकै कुरा गरिरहेको छु । बैठकभित्र मोबाइल बज्नु हुँदैन । आलोचनात्मक चेत हराएका झोलेहरू एमालेमा बस्छन् । खोई बोलेका ? भन्छन् । केपी ओलीले विरोध गर्नुपर्ने काम नै गर्दैनन् त के प्रश्न गर्ने ? हामी यस्तो कुराबाट प्रभावित हुनु हुँदैन ।’ ओलीले एमालेमा आलोचनात्मक हराएकाहरू बस्छन् भनेर बाहिर हल्ला फैलाइएको पनि बताए ।

ओलीले भने, ‘महाधिवेशनमा प्यानल बनाएर प्रतिस्पर्धा पनि भयो । तर अब केन्द्रीय कमिटीमा प्यानल छैन । यो देश हाँक्ने केन्द्रीय कमिटी हो । यसैले एमालेमा अब कुनै प्यानल छैन ।’ सो बैठकमा बोल्दै ओलीले महाधिवेशनमा प्यानल बनाएर प्रतिष्पर्धा गरे पनि अब कुनै प्यानल नरहेको बताए ।

केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गरिने
नेकपा एमालेले केन्द्रीय कमिटीबाट बिदा भएका सदस्य र पदाधिकारी रहने केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने भएको छ । शुक्रबार काठमाडौंमा जारी नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले यसबारे जानकारी गराएका हुन् ।

उनका अनुसार, केन्द्रीय कमिटीबाट बिदा भएका सदस्य र पदाधिकारी रहेको केन्द्रीय सल्लाहकार परिषद् गठन गरिने छ । यस्तै ११औँ महाधिवेशनपछि बसेको पहिलो बैठकले पार्टीमा मनोनयन, पोलिटब्युरो र स्थायी कमिटी गठनलगायतका विषयमा निर्णय गर्न केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २६, २७ र २८ गते राखेको छ । केन्द्रीय कमिटीको एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरोको एक तिहाइ स्थायी कमिटी गठन हुनेछ । एमालेको केन्द्रीय कमिटीमा ३०१ सदस्य रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *