`

सरकार बनेको विषय सर्वोच्चमा विचाराधीन रहँदासम्म चुनाव हुन सक्दैन : महेश बस्नेत

Nepal One HD ७ पुष २०८२ १६:२८
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले दलहरूको चुनाव चिन्ह गोला प्रथाबाट तय गर्ने सरकारको तयारीप्रति तीव्र आपत्ति जनाएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार निर्वाचन तयारीबारे आयोजना गरेको छलफलमा उनले अध्यादेशमार्फत यस्तो व्यवस्था ल्याउन खोजिएको भन्दै लोकतान्त्रिक मर्मविपरीत भएको बताए ।

बस्नेतका अनुसार सरकारले पछिल्लो समय निरन्तर अध्यादेश ल्याइरहेको छ र त्यसप्रति एमालेको असहमति छ । ‘अध्यादेश पूरै अध्ययन गर्न नपाए पनि सुनेअनुसार दलहरूको चुनाव चिन्ह गोला प्रथाबाट मर्यादाक्रम तोक्ने व्यवस्था राखिएको छ,’ उनले प्रधानमन्त्रीकै सामु भने, ‘विगतमा दलले पाएको मतको आधारमा चिन्हको मर्यादा तय गर्ने परम्परा थियो । त्यसलाई तोड्नु गम्भीर असन्तुष्टि रोप्नु हो ।’ उनले राष्ट्रपतिबाट पुस ४ गते जारी प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेशतर्फ संकेत गर्दै गोला प्रथाबाट चुनाव चिन्ह छान्ने व्यवस्था स्वीकार्य नहुने स्पष्ट पारे । पुराना र स्थापित राजनीतिक दललाई निषेध गरेर निष्पक्ष निर्वाचन सम्भव नहुने उनको भनाइ थियो ।

‘तपाईंहरूको जिम्मेवारी चुनाव गराउने हो । सर्वोच्चको फैसला र कुनै सहमति नआएसम्म दलहरूबीच समझदारी खोज्नु पर्छ,’ उनले भने, ‘पुराना दललाई गाली गरेर वा पन्छाएर चुनाव हुँदैन ।’ बस्नेतले वर्तमान सरकार गठन र प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी दोहो¥याउँदै एमाले त्यसविरुद्ध सर्वोच्च अदालत पुगेको स्मरण गराए । यही अवस्थाबीच फागुन २१ गते निर्वाचन हुनेमा आफूलाई विश्वास नरहेको उनले बताए । ‘हामी सैद्धान्तिक रूपमा निर्वाचनको पक्षमा छौं,’ उनले भने, ‘तर असंवैधानिक ढंगले सरकार बनेको विषय सर्वोच्चमा विचाराधीन रहँदा चुनाव हुन सक्दैन ।’ ११ औँ महाधिवेशनबाट एमाले सचिवमा निर्वाचित बस्नेत दलको प्रतिनिधित्व गर्दै सर्वदलीय बैठकमा सहभागी भएका हुन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *