`

ईश्वर पोखरेलको चेतावनी : पार्टीमा सम्मानजनक व्यवहार नभए परिणाम अप्रिय हुनसक्छ

Nepal One HD ८ पुष २०८२ ८:५२
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले पार्टीभित्र सम्मानजनक व्यवहार स्थापित हुन नसके अप्रिय र नोक्सानदायी परिणाम भोग्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन् । सोमबार राति सामाजिक सञ्जालमार्फत लामो धारणा सार्वजनिक गर्दै ११औं महाधिवेशनका प्रत्यासी समेत रहेका पोखरेलले महाधिवेशनले तय गरिसकेका निष्कर्षहरूलाई सबैले इमानदारीपूर्वक पालना गर्नु आजको प्रमुख दायित्व भएको बताएका छन् ।

उनले पार्टी नेतृत्वप्रति अन्धसमर्पण होइन, समानता र सम्मानमा आधारित व्यवहारको अपेक्षा स्वाभाविक र आवश्यक भएको स्पष्ट पारेका छन् । नेतृत्व तह र त्यसबाट प्रभावित सबैले यो यथार्थ बुझ्न जरुरी रहेको उल्लेख गर्दै पोखरेलले सम्मानजनक व्यवहार नहुँदा उत्पन्न हुने अप्रिय र हानिकारक परिणामबाट कसरी जोगिन सकिन्छ भन्ने प्रश्नसमेत उठाएका छन् । उनका अनुसार यस्ता व्यवहारले पार्टी मात्र होइन, समग्र आन्दोलनलाई कमजोर बनाउने खतरा रहन्छ ।

पोखरेलले पार्टी रूपान्तरणका लागि निरन्तर बहस, छलफल, विधि र प्रक्रियाबाट गरिएका आधिकारिक तथा संस्थागत निर्णयहरूको पालना अनिवार्य रहेको बताएका छन् । व्यवहारमा काखा–पाखा नगर्ने सुनिश्चितता र विभाजनजस्ता दुर्भाग्यपूर्ण प्रवृत्तिको दृढ विरोध अहिलेको आवश्यकता भएको उनको निष्कर्ष छ । महाधिवेशनका क्रममा नेतृत्व चयनमा समूहगत धारणा देखिए पनि त्यसलाई आधार बनाएर कटाक्ष र आग्रह–प्रेरित टिप्पणी गर्नु पार्टीका लागि लाभदायी नभई थप नोक्सानदायी हुने उनको भनाइ छ ।

उनले अनावश्यक रूपमा पार्टीभित्र तरंग सिर्जना नगर्न आग्रह गर्दै विधि र प्रक्रियाअनुसार भएका निर्णयहरूको निशर्त पालना नै पार्टी एकतालाई मजबुत बनाउने आधार भएको उल्लेख गरेका छन् । पार्टीलाई विभाजित गर्ने कुनै पनि प्रयासको कडा विरोध गर्नुपर्ने र साथसाथै सबै कार्यकर्ताको स्वाभिमान र आत्मसम्मानको रक्षा गर्न नेतृत्व प्रतिबद्ध हुनुपर्ने पोखरेलको धारणा छ । यिनै मूल्य र आचरणका आधारमा मात्र पार्टी नेतृत्वको वैधता र प्रतिरक्षा सम्भव हुने उल्लेख गर्दै उनले सबै प्रकारका षड्यन्त्रलाई पराजित गर्दै नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *