`

च्यासल छलफलपछि सरकारका प्रवक्ताले भने–एमाले निर्वाचनमा जान तयार भइसक्यो

Nepal One HD ८ पुष २०८२ १५:५४
प्रमुख खबर

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमाले फागुन २१ गते हुने निर्वाचनमा भाग लिन तयार भएको बताएका छन् । नेकपा एमालेको मुख्यालय च्यासलमा अनुगमनको क्रममा पुगेका उनले एमाले निर्वाचनमा भाग लिनको लागि तयार भएको बताएका हुन् । सरकारले निर्वाचनको लागि वातावरण बनाइरहेको उल्लेख गर्दै उनले एमाले तथा राजनीतिक दलहरुलाई निर्वाचनमा प्रचारप्रसार लगायतका वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए । स्वतन्त्र, भयरहित र धाँदलीरहित ढंगबाट निर्वाचन गर्ने वातावरण सरकारले मिलाउने उनको भनाई छ । उनले एमालेले समेत निर्वाचनमा भाग लिने बताएसँगै देश निर्वाचनमय बनेको बताए ।

उनले भने, ‘आज अलिकति खुलेर कुराहरु हामी दुवै पक्षबीच भएको छ । त्यसमा के भएको छ भन्दाखेरी नेकपा एमाले तर्फबाट उहाँहरुले स्पष्ट रुपमा भन्नु भएको छ, वातावरण बनाउनुस्, हामी निर्वाचनमा भाग लिन्छौँ भन्ने कुरा नेकपा एमालेको महासचिवबाट स्पष्ट रुपमा आएको छ । सरकारको तर्फबाट हामीले उहाँहरुलाई निर्वाचनको लागि स्वतन्त्र भयरहित र धाँदलीरहित ढंगबाट निर्वाचन गर्ने वातावरण सरकारले मिलाउँछ, चुनाव प्रचारप्रचारको लागि चुनावी अभियानका अगाडी बढ्नको लागि कुनैपनि नेता कार्यकर्ता अथवा जनतलाई कहीँ कतैपनि अवरोध नभईकन खुला रुपमा भोट माग्ने र भोट दिने वातावरण बनाउने कुरामा सरकार प्रतिबद्ध छ भन्ने कुरा हामीले दोहोर्‍याएका छौँ ।’

उनले भने, ‘यो सबै हिसाबले आज नेकपा एमालेसँगको भेटघाट चुनावउन्मुख भएको र चुनावको लागि नेकपा एमाले पनि तयार भएको र सरकारले पनि वातावरण बनाउने कुराहरुमा त्यही रुपमा तयारी अगाडि बढाएको हिसाबले अब मुलुक चुनावमा होमियो र चुनावमा अगाडि बढ्यो ।’

उनले एमाले अध्यक्ष केपी ओलीको स्थानहदका सन्दर्भमा पनि सरकार लचिलो बन्न सक्ने संकेत गरे । उनले एमालले निर्वाचनमा भाग लिने प्रतिबद्धता जनाएपछि सरकारले पनि निर्वाचनको वातावरण बनाउनको लागि सकेसम्मको लचकता अपनाउने बताए । भदौ २३ र २४ गतेको घटना छानबिन आयोगले पनि काम गरिरहेको सन्दर्भमा सरकारले आफ्नो कार्यक्षेत्रमा र अधिकारले मिल्नेसम्म निर्वाचनको लागि स्थानहद हटाउने लगायतका विषयका काम गर्ने उनले जानकारी दिए ।

उनले भने, ‘जब तपाईं हामी देश नै सबै चुनावको लागि तयार भयो भने सरकारले चुनावमा भाग लिने राजनीतिक दललाई र तीनका नेताहरुलाई त्यो वातावरण त सरकारले दिनुपर्‍यो । तर सबभन्दा पहिला चुनावमा भाग लिने कुराहरुको स्पष्ट रुपमा राजनितिक दलबाट खास गरेर नेकपा एमालेबाट आज आएको अवस्था छ । त्यो अवस्थालाई सरकारले सकरात्मक रुपमा लिएको छ ।’

प्रवक्ता खरेलले भने, ‘जहाँसम्म स्थानहदका कुराहरु छन् । नेतृत्वको सन्दर्भमा अथवा विभिन्न नेताहरुको सन्दर्भमा स्थानहदको सन्दर्भमा त एकातिर आयोगले काम गरिरहेको छ, अर्कोतिर सरकारले पनि त्यो काम गरिरहेको भएर यहाँहरुलाई हामी के भन्न चाहन्छौँ भने चुनाव हाम्रो महायज्ञ हो, महोत्सव हो । सुशासन अर्को महत्वपूर्ण प्राथमिकता हो । भ्रष्टाचार नियन्त्रण गर्ने कुरा यो सरकारले म्याण्डेड लिएको छ भनेदेखि यी बाँकी कुराहरुको सन्दर्भमा यी महत्वपूर्ण कुराहरुलाई आत्मसाथ गर्दै कहाँ कहाँ सरकार लचक हुनसक्छ, यी ठाउँहरुमा सरकारको आफ्नो अधिकार क्षेत्र र जिम्मेवारी, सरकारको जहाँ छ, जे गर्नसक्छ, त्यो भन्ने अवस्थामा सरकारको तर्फवाट सबै प्रकारको वातावरण बनाउन सरकारले काम गर्छ ।’ कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको वातावरण बनाउन एमालेले सरकारको ध्यानाकर्षण गराएको र सरकारले त्यसलाई सकरात्मक रुपमा लिएर काम अगाडि बढाउने बताए । उनले वर्तमान अवस्थाको राजनीतिक निकास निकाल्न निर्वाचन बाहेक अर्को विकल्प नभएको पनि बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *