बालेन–रवि सहमतिबारे पोखरेलको टिप्पणी–षड्यन्त्रको दोस्रो चरणको तयारी शुरु
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच सात बुँदे सहमति भएको सन्दर्भमा भदौ २३ र २४ गते भएका घटनाका योजनाकार र मतियार क्रमशः सार्वजनिक हुन लागेको दाबी गरेका छन् । उनले ती घटनालाई भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेन जस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरणको रूपमा व्याख्या गर्दै अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी सुरु भएको आशंका व्यक्त गरेका छन् ।
सात बुँदे सहमति भएकै दिन बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले भदौ २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरिएको र त्यस क्रममा केही युवाको ज्यान गएको आरोप लगाएका छन् । उनका अनुसार भदौ २४ गते त्यसैको आडमा मुलुकको अस्मिता र सामथ्र्य कमजोर बनाउने उद्देश्यले राज्य र लोकतन्त्रका आधार स्तम्भमाथि आक्रमण गर्ने प्रयास भयो । यी सबै गतिविधि कुनै आकस्मिक घटना नभई संगठित विध्वंसको हिस्सा भएको उनको निष्कर्ष छ ।
पोखरेलले उक्त घटनाहरूको पृष्ठभूमिमा रहेको शक्तिको पहिचान अब बाहिरिँदै गएको उल्लेख गर्दै विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने कुरा क्रमशः सार्वजनिक हुँदै जाने दाबी गरेका छन् । उनले नेपाललाई भूराजनीतिक द्वन्द्वमा तान्ने प्रयास भइरहेको भन्दै त्यसप्रति गम्भीर सतर्कता अपनाउनुपर्ने बताए । नयाँ राजनीतिक शक्तिहरू एकीकृत हुने प्रक्रियामा रहेको बेला पोखरेलले संविधान र लोकतन्त्रका पक्षधर पुराना शक्तिहरूबीच समेत एकताको आवश्यकता औंल्याएका छन् । उनले देशभक्त शक्तिहरू सचेत र एकजुट हुनुपर्नेमा जोड दिँदै नेपाल राष्ट्रलाई बाह्य भूराजनीतिक खेलको गोटी बन्नबाट जोगाउन सबै पक्षले जिम्मेवार र सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखेका छन् ।
