`

महेश बस्नेतको टिप्पणी : अब बालेनप्रतिको आकर्षण घट्छ

Nepal One HD १३ पुष २०८२ १२:१५
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पछिल्लो समय देखिएको राजनीतिक उतारचढावप्रति कडा टिप्पणी गर्दै संविधान र लोकतन्त्रका पक्षधर शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सम्भावित सहकार्यलाई लिएर गम्भीर प्रश्न उठाएका छन् ।

बस्नेतका अनुसार नेपाली राजनीतिमा नयाँ अनुहारलाई बारम्बार ‘आशा’ का रूपमा प्रस्तुत गर्ने तर केही समयमै ती पात्रहरू ‘बासी’ बन्ने प्रवृत्ति दोहोरिँदै आएको छ । उनले गगन थापा, रवि लामिछाने हुँदै बालेन शाहसम्मको उदाहरण दिँदै लोकप्रियताको लहर दीर्घकालीन परिवर्तनको आधार बन्न नसकेको दाबी गरेका छन् । उनले लेखेका छन्, ‘नेपाली राजनीतिमा नयाँ पात्रलाई सधैँ आशाको रूपमा बेचिन्छ । गगन आए, जबर्जस्त बासी बनाइए । काण्डै–काण्डका नाइके रवि आए, उनी पनि बासी भए । लोकप्रियताको आडमा बालेन आए–तीन वर्षमा नगरपालिका नै फेर्न नसक्ने पात्रले अब देश फेर्छ भन्ने भ्रम पनि सकिन थालेको छ ।’

बस्नेतको भनाइमा बालेन शाहको लोकप्रियता उनको स्वतन्त्र छविसँग जोडिएको थियो । तर विवादित छवि भएका रवि लामिछाने नेतृत्वको दलसँग नजिकिँदै गएपछि त्यो आकर्षण तीव्र गतिमा घट्ने संकेत देखिन थालेको उनले बताएका छन् । ‘बालेनको लोकप्रियता स्वतन्त्र छविकै कारण थियो । रवि जस्तो विवादित पात्रको नेतृत्व रहेको दलसँग जोडिना साथ त्यो आकर्षण घट्नु स्वाभाविक हो’, उनले उल्लेख गरेका छन् ।

रास्वपाको राजनीतिप्रति पनि बस्नेतले तीखो टिप्पणी गरेका छन् । उनका अनुसार पुराना दललाई गाली गर्ने र सत्तामा पुग्ने बाहेक स्पष्ट नीति, दिशा र दीर्घकालीन भिजन नहुँदा जनतासँगको दूरी झन् बढ्दै जाने निश्चित छ । ‘काम गर्ने कालू, मकै खाने भालु’ को उखान प्रयोग गर्दै उनले व्यक्तिवादी स्वार्थमा आधारित राजनीति टिकाउ नहुने जिकिर गरेका छन् । बस्नेतले भदौ २३ गतेको शान्तिपूर्ण प्रदर्शन योजनाबद्ध रूपमा मुठभेडमा परिणत गराइएको र त्यसक्रममा केही युवाले ज्यान गुमाउनुपरेको उल्लेख गरेका छन् । साथै, भदौ २४ गते राज्यका आधारस्तम्भ—सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत—माथि आक्रमण गरिएको भन्दै त्यसलाई लोकतन्त्रविरुद्धको गम्भीर चुनौतीका रूपमा चित्रण गरेका छन् ।

उनको दाबी छ कि यी घटनाहरू नेपाललाई अस्थिर बनाउने भूराजनीतिक षड्यन्त्रको प्रारम्भिक चरण हुन सक्छन् । ‘यसमा बालेन र रविको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका देखिनु, साथै माओवादी र राजावादी धाराहरूको समर्थन देखिनु गम्भीर चिन्ताको विषय हो’, उनले लेखेका छन् । आगामी निर्वाचनलाई लक्षित गर्दै बस्नेतले मुख्य प्रश्न उठाएका छन्–राज्यका संरचना जलाउने अराजक राजनीति रोज्ने कि ती संरचना निर्माण गर्ने र भत्काउनेमाथि कारबाही गर्ने जिम्मेवार राजनीतिलाई साथ दिने ? उनका अनुसार अराजक धारको नेतृत्व बालेन–रविहरूले गरिरहेको देखिन्छ भने संरचना जोगाउने जिम्मेवारी पुराना दलकै काँधमा आएको छ । यद्यपि, उनले समस्या पुराना दलको अस्तित्व नभई तिनभित्रका विकृतिहरू भएको स्पष्ट पारेका छन् । ‘नयाँ दल खोल्नु समाधान होइन, पुराना दललाई परिमार्जन गर्दै राजनीतिक सुधार गर्नु नै आजको आवश्यकता हो’, बस्नेतको निष्कर्ष छ । उनले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै जिम्मेवार शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन् । नत्र ‘नयाँ बोत्तलमा पुरानै रक्सी’ पिइरहँदा नेपाली जनता फेरि–फेरि उही भ्रमको सिकार भइरहने चेतावनी उनले दिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *