सुदूरपश्चिममा ‘पुस पन्ध्र’
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा मनाइने पुस पन्ध्र एक मौलिक, ऐतिहासिक र सांस्कृतिक रूपमा अत्यन्त महत्वपूर्ण पर्व हो । यो पर्व सुदूरपश्चिमको पहिचानसँग गहिरो रूपमा जोडिएको छ र पुस्तौँदेखि स्थानीय जनजीवनमा निरन्तर रूपमा मनाइँदै आएको छ । पुस पन्ध्रलाई त्यहाँ केवल चाडका रूपमा मात्र नभई लोकसंस्कृति, सामूहिकता र परम्पराको प्रतीकका रूपमा लिइन्छ ।
यस दिन सुदूरपश्चिमका अधिकांश भूभागमा भुच्चाने वा ढुकढुक्या रोटी खाने चलन छ । यो रोटी चामलको पिठोलाई घिउ र चिनीको पानीमा मुछेर बनाइन्छ भने कतिपय ठाउँमा दहीमा मुछेर पनि बनाउने प्रचलन छ । कतिपय समुदायमा पुस पन्ध्रको रात १५ प्रकारका परिकार बनाएर खाने परम्परा रहेको छ । साथै, विभिन्न किसिमका फलफूल संकलन गरी साथीभाइ भेला भएर रातभर जाग्राम बस्ने चलन पनि व्यापक छ ।
विशेष गरी जंगलबाट ल्याइने तरुल (तोण) अत्यधिक मात्रामा खाने भएकाले यो रातलाई ‘तरुल रात’ पनि भनिन्छ। असार १५ लाई वर्षको सबैभन्दा छोटो दिन मानिएझैँ सुदूरपश्चिमको लोकमान्यतानुसार पुस पन्ध्रको रातलाई सबैभन्दा लामो रात मानिन्छ । यही कारणले आजको रातलाई सुदूरपश्चिममा ‘ठूली रात’ पनि भनिन्छ । आजको राति परिवार र छिमेकी भेला भई लोककथा, दन्त्यकथा र रमाइला बातै सुनाउँदै रात बिताउने चलन छ।
पुसे पन्ध्रलाई लोकसंस्कृतिको पर्वका रूपमा पनि लिइन्छ। कतिपय ठाउँमा रात काट्न देउडा खेल्ने परम्परा छ। यस दिन घाँस काट्ने हँसिया र दाउरा चिर्ने बञ्चरो नचलाउने मान्यता पनि पाइन्छ । यसरी, पुस पन्ध्र सुदूरपश्चिमको सामाजिक, सांस्कृतिक र भावनात्मक एकताको महत्वपूर्ण पर्व हो।
सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड क्षेत्रमा पुस १५ देखि उत्तरायण सुरु भई दिन बढ्दै र रात घट्दै जाने लोकविश्वास रहेको छ।
