चक्रे मिलन गोरखा–२ बाट एमालेको उम्मेदवार सिफारिस
काठमाडौं । गोरखा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेबाट मिलन गुरुङ (चक्रे मिलन) उम्मेदवार सिफारिस भएका छन्। उम्मेदवार सिफारिसपछि उनले आफ्नो इच्छाभन्दा पनि जनसमुदाय र जेनजी पुस्ताको निरन्तर माग र दबाबका कारण भएको दावी गरेका छन् । विगतमा गुण्डा नाइकेको छवी पाएका उनी नेकपा एमालेमा वि.सं. २०५० सालदेखि सक्रिय बनेका हुन् । उनी सामाजिक कार्यमा पनि क्रियाशील छन् ।
गुरुङको उम्मेदवारीबारे प्रतिक्रिया दिँदै युवा संघका केन्द्रीय सदस्य प्रविण अधिकारीले भने, ‘जो कोही निस्वार्थ रूपमा राजनीति र समाजसेवाका लागि अघि बढ्छन्, त्यस्ता व्यक्तित्वलाई गोरखामा स्वागत गर्नुपर्छ ।’ गुरुङ पटक–पटक पक्राउ पर्दै हिरासत र जेल पुग्ने गरेका छन् । पछिल्लो पटक उनी गत साउनमा पक्राउ परेका थिए । त्यतिबेला उनीसहितका व्यक्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जको एक होटलबाट पक्राउ गरेको थियो । सर्वसाधारणलाई आतंकित पार्ने गतिविधि गरेको आरोपमा उनी समातिएका थिए । यो मुद्दामा उनी धरौटीमा छुटेका थिए । उनीविरुद्ध भक्तपुरमा ज्यान मार्ने उद्योगको अर्को मुद्दा थियो । काठमाडौंबाट छुटेपछि उनलाई भक्तपुर पठाइएको थियो । भक्तपुर अदालतबाट पनि उनी धरौटीमा रिहा भएका थिए ।
प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) को विवरण केलाउने हो भने उनीविरुद्ध अहिलेसम्म १२ पटक भन्दा बढी मुद्दा चलेको छ । कुनै समय (हाल दिवंगत) एमाले नेता प्रदीप नेपालका किचन क्याबिनेटका सदस्य भनेर चिनिने उनै मिलन गुरुङ अहिले चक्रे बनेर परिचित छन् ।
भुतपूर्व गोर्खा आर्मीका छोरा चक्रेको घर गोरखा सिरानचोक गाउँपालिका–५ छोप्राक हो । उनी काठमाडौंमा भने चक्रपथ महाराजगञ्जमा बसे ।
चक्रपथ क्षेत्रमा आफ्नो गतिविधि बिस्तार गरेर पछि चक्रे नामले नै अपराधको दुनियाँमा प्रख्यात भए । एक समय दरबारको निकट रहेको मानिने चक्रे २०४६ सालपछि भने एमाले बनेका हुन् । अनि महाराजगञ्ज क्षेत्रमा केटाहरू जम्मा पारेर त्यसक्षेत्रका बालुवा खानीका ठेक्काहरूमा कमिसन लिन थाले । महाराजगञ्ज क्षेत्रलाई आफ्नो आधार इलाका बनाउँदै ठेक्कापट्टामार्फत कमिसन र सलामी शेयर लिन थालेका उनी नदिनेविरुद्ध धम्की दिँदै कमिसन लिन थाले । सोही क्रममा पहिलो पटक चक्रे ७ साउन २०४७ मा पक्राउ परे ।
