`

निर्वाचन केन्द्रित बन्दै एमाले, जनसंगठनलाई जनमत सिर्जनामा लाग्न निर्देशन

Nepal One HD २५ पुष २०८२ १४:२८
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनलाई केन्द्रीय एजेण्डा बनाउँदै पार्टीको पक्षमा व्यापक जनमत निर्माण गर्न जनसंगठनहरूलाई सशक्त रूपमा परिचालन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न जनसंगठन समन्वय संयन्त्रको बैठकमा महासचिव शंकर पोखरेलले जनसंगठनहरूलाई निर्वाचन अभियानको अग्रपंक्तिमा उभिन स्पष्ट निर्देशन दिए ।

महासचिव पोखरेलले यो निर्वाचन सामान्य राजनीतिक प्रतिस्पर्धा मात्र नभई विचार र वर्ग संघर्षसँग जोडिएको लडाइँ भएको उल्लेख गर्दै पार्टीका नीति, विचार र उपलब्धिलाई जनतामाझ प्रभावकारी ढंगले पुर्‍याउने मुख्य जिम्मेवारी जनसंगठनकै भएको बताए । केन्द्रबाट तय गरिएका कार्यक्रम र योजनाहरू स्थानीय तहसम्म कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिँदै उनले निर्वाचन केन्द्रित बैठक, अभियान र जनसंवादलाई तीव्र बनाउन आग्रह गरे ।

बैठकमा सामाजिक सञ्जालको प्रभावकारी प्रयोगमार्फत पार्टीको पक्षमा जनमत निर्माण गर्न विशेष जोड दिइयो । पार्टी सर्कुलरअनुसार सबै जनसंगठनहरू परिचालित भई युवासहित विभिन्न वर्ग, समुदाय र पेशागत समूहसम्म पार्टीको सन्देश सशक्त रूपमा पु¥याउनु पर्नेमा महासचिव पोखरेलले जोड दिए । यसक्रममा उनले भदौ २३ र २४ गते भएका घटनाहरू स्वस्फूर्त नभई योजनाबद्ध रहेको दाबी गर्दै ती घटनासँग सम्बन्धित फुटेज सार्वजनिक भइसकेको उल्लेख गरे । टीओबी, फ्री तिब्बत मुभमेन्ट र बारबरा फाउन्डेसन जस्ता पक्षहरूको संलग्नतासम्बन्धी विषयहरू बाहिर आइसकेको भन्दै ती घटना आकस्मिक नभई लामो तयारीका साथ घटाइएको तथ्य जनतामाझ स्पष्ट रूपमा राख्नुपर्ने आवश्यकता औंल्याए ।

बैठकमा पार्टी सचिव तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले पनि जनसंगठनलाई थप सक्रिय, अनुशासित र परिणाममुखी ढंगले परिचालन हुन निर्देशन दिए । उनले आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित गर्न जनतासँग प्रत्यक्ष सम्पर्क, संवाद र अभियानलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । बैठकले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै पार्टीको पक्षमा व्यापक जनमत सिर्जना गर्ने लक्ष्यसहित जनसंगठनहरूको भूमिकालाई अझ प्रभावकारी र सशक्त बनाउने निष्कर्ष निकालेको छ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *