`

गगनले पाए रूख र चार तारे झन्डा, आयोगले दियो विशेषलाई मान्यता

रामचन्द्र जोशी २ माघ २०८२ १९:४३
निर्वाचन विषेश

नेपाली कांग्रेसको नेतृत्व विवादसम्बन्धि निर्वाचन आयोगले आफ्नो निर्णय दिएको छ । १४औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा वा शुक्रबार सकिएको विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वमध्ये कुन आधिकारिक भन्ने विवाद शुक्रबार नै निर्वाचन आयोग पुगेको थियो ।

शुक्रबार साँझ आयोगले विशेष महाधिवेशनको पक्षमा निर्णय गरेपछि गगन थापा सभापति रहेको नेपाली कांग्रेसको नेतृत्व आधिकारिक बनेको छ । यद्यपी, आयोगको यो निर्णयलाई स्वीकार नगरे देउवा पक्ष सर्वोच्च अदालत जान सक्ने छ ।

नेतृत्वको आधिकारिकता सम्बन्धि विवादका कारण शुक्रबार दिनभरि कान्तिपथ तनावग्रस्त भएको थियो ।  गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस र शेर बहादुर देउवा नेतृत्वकाे कांग्रेस समूहका कार्यकर्ताले निर्वाचन आयोग अगाडि प्रदर्शन गरेका थिए । प्रदर्शनमा गगन समूहले वैधानिक कांग्रेस यता छ, गगन-विश्व जिन्दावाद भन्दै नाराबाजी गरिरहेका थिए भने देउवा समूहका प्रदर्शनकारीले किर्ते भेला बन्द गर, हामी केही जान्दैनौ-विशेष भेला मान्दैनौं भन्दै नाराबाजी गरिरहेका थिए । एकअर्को पक्षका विरुद्धमा नाराबाजी गरिरहेका उनीहरूले नेपाली कांग्रेस जिन्दावादको नारा भने समान रूपमा लगाइरहेका थिए ।

नेपाली कांग्रेसका छुट्टाछुट्टै समूह वैधताको प्रश्न सहित निर्वाचन आयोग धाइरहेका थिए । विशेष महाधिवेशनबाट निर्वाचित गगन नेतृत्वको कांग्रेसले  आफू आधिकारिक भएको भन्दै बिहीबार पुरानो पार्टी कार्यसमितिको सूची अद्यावधिक गर्न निर्वाचन आयोग पुगेपछि देउवा पक्ष आफू आधिकारिक भएको भन्दै शुक्रबार बिहानै आयोग पुगेको थियो । त्यसको तीन घण्टापछि गगन नेतृत्वको कांग्रेस वैधताको प्रश्नसहित आयोग अगाडि धर्ना नै बस्यो । 

त्यसको केही समय नबित्दै कान्तिपथ नेपाली कांग्रेसका दुई छुट्टाछुट्टै समूहका प्रदर्शनले दुई घण्टाभन्दा बढी समय जाममा परिरह्यो । प्रदर्शनमा उत्रिएका दुवै पक्षले एकअर्कालाई विधानको विपरीत गएर गतिविधि गरेको आरोप लगाए ।

विधानको छुट्टाछुट्टै व्याख्या 

जमल कान्तिपथमा प्रदर्शनमा जुटेका देउवा पक्षीय काङ्ग्रेस र गगन पक्षीय काङ्ग्रेस कार्यकर्ताले आ-आफ्नै तरिकाले विधानको व्याख्या गरिरहेका थिए। ४० प्रतिशत महाधिवेशन प्रतिनिधीले विशेष महाधिवेशन बोलाउन सक्ने विधानको व्यवस्था रहेको गगन पक्षको दाबीलाई देउवा पक्षले केन्द्रीय कार्यसमिति बाहेक अरु कसैले महाधिवेशन बोलाउन नसक्ने भन्दै खण्डन गरिरहेको थियो। 

देउवा पक्षबाट प्रदर्शनमा आएका एक काङ्ग्रेस कार्यकर्ताले विशेष महाधिवेशनमा देखाईएको हस्ताक्षर ‘फेक’ भएको आरोप लगाए। ‘पार्टीको विधान मान्छ भने विधानमा टेकेर सय सत्ताइस जना केन्द्रीय सदस्यहरूले हस्ताक्षर गर्‍या छन्,’ ती कार्यकर्ताले भने, ‘मेरै जिल्ला, सुन्नुस्, म सुनसरी जिल्लाको हो, मेरो जिल्लाको दुई नम्बरक्षेत्रको एक महाधिवेशन प्रतिनिधि बितिसक्यो। उहाँको पनि सिग्नेचर आएको छ। उहाँ स्वर्गबाट आएर सिग्नेचर गर्नुभा हो? कसले गर्‍यो त्यसरी, कसले गर्‍यो त?’

साथै उनले निर्वाचन आयोगले विधि र विधानमा टेकेर निर्णय दिएन भने देशैभरका निर्वाचन आयोगमा आगो बाल्ने चेतावनी समेत दिए।’ चुनाव होइन, हामी सतहत्तरै जिल्लाको निर्वाचन आयोगमा आगो बाल्छौँ’ उनले भने। 

त्यस्तै, देउवापक्षकै अर्की कार्यकर्ता यशोदा भट्टले आफू विधि, विधान र कानुनको पक्षमा रहेको बताइन्। ‘कानुन प्रक्रियामा हिँड्न सक्नुपर्‍यो, कानुन हेर्नुपर्‍यो, हामी भनेको कानुन क्षेत्रमा हिँडेका मान्छे हौँ’, उनले भनिन्, ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कानुनमा हिँडेको मान्छे हो।  विशेष महाधिवेशन भन्नेले कानुन मिचेर बस्नुभएको छ नि ।’

यता गगन पक्षीय कार्यकर्ताले भने विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले वैधता प्रदान गर्ने क्रममा रहेकाले उपस्थित भएको प्रतिक्रिया दिए। ‘पार्टीको कार्यसमिति परिवर्तन भएकाले हामी त्यसलाई अधावधिक गर्न आयोगमा उपस्थित भएका हौ’, प्रदर्शनमै सहभागी एक कार्यकर्ताले भने, ‘निर्वाचन आयोगको निर्णय पर्खेर बसिरहेका छौँ, आयोगले हामीलाई नै वैधता दिन्छ भन्नेमा विश्वस्त छौँ।’ 

अधिवक्ता दिनेश त्रिपाठीले कांग्रेसमा निम्तिएको यो विवादको जिम्मेवार पार्टी सभापति लगायत संस्थापन भएको बताए। ‘४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन आह्वान गरिसकेपछि अधिवेशन बोलाउने जिम्मा पार्टी सभापतिको हो, तर उहाँले किन बाेलाउनु भएन मलाइ थाहा छैन,’ उनले भने, ‘अब महाधिवेशन सम्पन्न भइसक्यो। ५६ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधीले नयाँ नेतृत्व चुनिसक्यो, यसैले वैधता पाउँछ।’

यो विवादलाई चिर्दै आयोगले विशेष महाधिवेशन र यसले निर्वाचित गरेको नेतृत्वलाई मान्यता दिएको हो ।     


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *