`

टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि : मालपानीका लागि कसैसँग हात नपसार्नु मेरो कमजोरी

Nepal One HD ४ माघ २०८२ १०:१८
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा पार्टीभित्र भएको आन्तरिक मतदानको नतिजालाई बेवास्ता गरेको भन्दै दैलेखमा चर्चा चुलिएको छ । आन्तरिक प्रतिष्पर्धामा सर्वाधिक मत प्राप्त गरेका केन्द्रीय सदस्य विष्णु रिजाललाई पन्छाउँदै एमालेले दैलेख क्षेत्र नं. २ बाट लक्ष्मीराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले शर्मालाई औपचारिक उम्मेदवार बनाउने निर्णय गरेको हो । यसअघि उम्मेदवार सिफारिसका लागि भएको क्षेत्रीय कमिटीको मतदानमा रिजालले ६७ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका थिए भने शर्माले ६६ मत पाएका थिए । एक मतले पछि परेका शर्मालाई केन्द्रले अघि सारेपछि कार्यकर्ताबीच यो निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ । जिल्ला र प्रदेश कमिटीबाट समेत पहिलो नम्बरमा सिफारिस भएका रिजाललाई टिकट नदिइएपछि एमालेको ‘आन्तरिक लोकतन्त्र’ माथि प्रश्न उठेको छ । दैलेख एमाले वृत्तमा नेतृत्वको निर्णयले कार्यकर्ताको मतको सम्मान नभएको टिप्पणी भइरहेको छ ।

टिकट नपाएपछि विष्णु रिजालले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, ‘कार्यकर्ताको रोजाइमा पहिलो भए पनि तेस्रो पटकसम्म नेतृत्वको रोजाइमा पर्न सकिनँ ।’ उनले यस पटक आफू दैलेख–२ बाट पार्टी कार्यकर्ताको मतदानबाट पहिलो नम्बरमा सिफारिस भएको, जिल्ला र प्रदेश कमिटीले समेत पहिलो नम्बरमै अघि सारेको स्मरण गराएका छन् ।

रिजालले टिकट पाउने नेतालाई कटाक्षपूर्ण शैलीमा लामो राजनीतिक अनुभव भए पनि पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धामा पराजित हुँदाहुँदै पनि नेतृत्वको रोजाइमा पर्न सक्ने ‘अद्भूत क्षमता’ को चर्चा गरेका छन् । उनले ‘कसैसँग मालपानीका लागि हात नपसार्नु नै मेरो कमजोरी हो भने यसमा भन्नु केही छैन’ भन्दै संकेतात्मक अभिव्यक्ति दिएका छन् ।

उनले राजनीति भित्र प्रत्यक्ष प्रतिस्पर्धा गर्न नसकेर व्यक्तिगत प्रतिष्ठामाथि आक्रमण गर्ने प्रवृत्तिप्रति आलोचना गर्दै आफ्ना पक्षमा उभिने सबैप्रति धन्यवाद व्यक्त गरेका छन् । साथै टिकट नपाएको विषयमा निरास नहुन आग्रह गर्दै समर्थकसँग क्षमायाचना पनि गरेका छन् । एमालेको यो निर्णयले उम्मेदवार छनोट प्रक्रियामा आन्तरिक मतदानको भूमिका र नेतृत्वको प्राथमिकताबीचको अन्तरविरोधलाई पुनः सतहमा ल्याएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *