ओलीले टिकट नदिएपछि गोकुलको आक्रोश : मसँग आँखा जुधाएर कुरा गर, बदख्वाही नगर
काठमाडौं । नेकपा एमालेभित्र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार छनोटले तीव्र राजनीतिक तरंग पैदा गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा भएको टिकट वितरणले पार्टीका प्रभावशाली नेताहरूलाई बाहिर राखेपछि असन्तुष्टि, आक्रोश र आन्तरिक शक्ति संघर्ष खुला रूपमा सतहमा आएको छ ।
काभ्रे–२ बाट निरन्तर निर्वाचित हुँदै आएका केन्द्रीय सदस्य गोकुल बास्कोटाले टिकट नपाएपछि सामाजिक सञ्जालमार्फत तीखो प्रतिक्रिया जनाएका छन् । उनले आफ्नो चरित्रहत्या नगर्न चेतावनी दिँदै नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । ‘त्यति मात्र सत्य बोल, जति भेट हुँदा आँखा जुधाएर भन्न सकियोस्’, बास्कोटाले लेखेका छन्, ‘पदमा बसेर नभएका कुरामा मेरो बदख्वाही नगर्नू । म पद लिएर आएको होइन, न पदका लागि नै जाने हुँ ।’ यस पटक ओलीले बास्कोटालाई छाडेर काभ्रे–२ मा अशोककुमार ब्याञ्जु श्रेष्ठलाई उम्मेदवार बनाएका छन् । पछिल्लो समय ओलीका निर्णयहरूमाथि खुलेर प्रश्न उठाउँदै आएका बास्कोटालाई सोही कारण टिकटबाट वञ्चित गरिएको चर्चा एमाले वृत्तमा व्यापक छ ।
ताप्लेजुङमा योगेश भट्टराई बाहिरिए, क्षितिज थेबे भित्रिए
टिकट विवादको अर्को ठूलो केन्द्र बनेको छ ताप्लेजुङ । दुई पटक सोही क्षेत्रबाट निर्वाचित उपमहासचिव योगेश भट्टराईलाई यस पटक टिकट नदिई एमालेले राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबेलाई उम्मेदवार बनाएको छ । शनिबार सचिवालय बैठकले टिकट ‘होल्ड’ गरे पनि आइतबार थेबेको नाम अन्तिम रूपमा टुंगिएको हो ।
यस निर्णयसँगै अध्यक्ष ओली र भट्टराईबीच लामो समयदेखि चलिरहेको राजनीतिक तनाव पुनः सार्वजनिक भएको छ । भट्टराईले निर्णयविरुद्ध औपचारिक रूपमा ‘नोट अफ डिसेन्ट’ दर्ता गर्दै उम्मेदवार छनोट प्रक्रिया अपारदर्शी र गुटगत भएको आरोप लगाएका छन् ।
ओलीको रणनीति र पार्टीभित्रको सन्देश
पार्टीभित्रका स्रोतका अनुसार अध्यक्ष ओलीले ताप्लेजुङको टिकट ‘होल्ड’ गरेर भट्टराईसँग सुलहको अपेक्षा गरेका थिए । तर भट्टराई नेतृत्वसँग प्रत्यक्ष भेट नगरी निर्णय प्रक्रियामाथि प्रश्न उठाउँदै असहमति दर्ता गरेपछि ओली थप कठोर बनेको बताइन्छ । एमालेको ११औं महाधिवेशनमा ओलीविरुद्ध उम्मेदवारी दिएका भट्टराई पुनः सांसद बनेमा संसदीय दलमै चुनौती खडा हुन सक्ने आंकलनले टिकट रोकेको विश्लेषण पनि भइरहेको छ ।
व्यापक टिकट कटौती, बढ्दो असन्तुलन
यस पटक एमालेले १४० भन्दा बढी क्षेत्रमा उम्मेदवार टुंग्याउँदा यसअघि चुनाव जितेका १३ जना सांसदको टिकट काटिएको छ । गोकुल बास्कोटा, ऋषिकेश पोखरेल, एलपी साँवा, ऐन महरलगायत नेताहरू सूचीमा परेका थिए । पछि केही निर्णय सच्याइए पनि मूल विवाद भने कायमै छ । महाधिवेशनमा विभिन्न पदमा प्रतिष्पर्धा गरेका धेरै नेताहरू टिकटबाट वञ्चित हुँदा पार्टीभित्र शक्ति सन्तुलन ओलीपक्षमा केन्द्रित हुँदै गएको देखिन्छ ।
नयाँ अनुहार, पुराना प्रश्न
ताप्लेजुङमा क्षितिज थेबे जस्ता युवा नेतालाई अघि सारिएको भन्दै एमालेले पुस्तान्तरणको तर्क प्रस्तुत गरे पनि योगेश भट्टराई जस्ता स्थापित नेताको बहिर्गमनले पार्टीको आन्तरिक लोकतन्त्र, निर्णय प्रक्रिया र नेतृत्व शैलीमाथि गम्भीर प्रश्न खडा गरेको छ । टिकट राजनीतिले चर्किएको यो असन्तुष्टि आगामी निर्वाचनमा एमालेको संगठनात्मक एकता र चुनावी परिणाममा कति असर पार्छ भन्ने प्रश्न अझै खुला नै छ ।

