`

देश जलाउनेहरुबाट जोगाउनु छ : ओली

Nepal One HD ६ माघ २०८२ १६:३४
निर्वाचन विषेश

झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आगो लगाउनेहरुबाट देश जोगाउनु नै अहिलेको आवश्यकता भएको बताएका छन् । मंगलवार आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरिसकेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले अहिले देशमा आगो लगाउनेहरु जागिरहेको बताए । उनले देश जलाउनेहरुले भ्रम फैल्याइरहेको र नयाँ पुस्ता त्यसको शिकार भइरहेको बताए । आगो लगाउने, लोकतन्त्र खाने, संविधान मिच्नेहरुबाट कार्यालय जलाउनेहरुबाट, व्यक्तिका घर जलाउनेहरुबाट, सरकारी कार्यालय जलाउनेबाट, नगरपालिका चलाउनेबाट देश बचाउनुपर्ने अहिलेको आवश्यकता भएको बताए ।

उनले भने, ‘अहिले देशमा आगो लगाउनेहरु जागिराखेका छन्, अघि बढिराखेका छन् । यिनले भ्रम पारिरहेका छन् । नयाँ पिँढीमा अलिकति भ्रम छ । भीड देखियो भन्नुभयो । मैले त त्यस्तो देखेको छैन । केही मान्छे जम्मा भएका होलान् । अब यस्तो अवस्थामा आगो लगाउने, लोकतन्त्र खाने, संविधान मिच्नेहरुबाट कार्यालय जलाउनेहरुबाट, व्यक्तिका घर जलाउनेहरुबाट, सरकारी कार्यालय जलाउनेबाट, नगरपालिका चलाउनेबाट देश बचाउनु पर्नेछ । देश बचाउनका लागि अनुभवी र दृढ नेतृत्व चाहिन्छ ।’ अध्यक्ष ओलीले देश बचाउनका लागि अनुभवी र दृढ नेतृत्व आवश्यक रहेको बताए ।

एमालेका अध्यक्ष ओलीले रास्वपाका कार्यकर्ताहरुले झापामा असभ्यता देखाएको बताएका छन् । उनले रास्वपाका तर्फबाट असभ्य खालको क्रियाकलाप भएको बताए । रास्वपाका कार्यकर्ताले आफ्नो स्तर जाहेर गरेको उनको भनाइ छ । रास्वपाका कार्यकर्ताले बाटो छेक्ने काम गरेकाले केही भनाभन भए पनि झडप नभएको बताए । उनले भने, ‘रास्वपाका तर्फबाट केही अस्वस्थ, असभ्य खालको क्रियाकलाप भयो भन्ने मैले सुनें । तर त्यस्तो ठूलो केही होइन । उनीहरुले आफ्नो स्तर जाहेर गर्ने त्यति कामसम्म गरेका होलान् जस्तो लाग्छ । त्यस्तो ठूला झडप होइन । उनीहरुले बाटो छेक्ने, डिस्टर्ब गर्ने असभ्यता देखाए । स्वस्थ प्रतिष्पर्धा, शान्तिपूर्ण ढंगले गर्नुपर्छ । चुनाव शान्तिपूर्ण ढंगले हुनुपर्छ ।’ अध्यक्ष ओलीले स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने र शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न हुनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *