अन्तरिम सरकारले देश जलाउनेहरुको, अपराधीहरुलाई कारवाही गरेन : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पति जलाउनेहरुलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् । बुधवार गृह जिल्ला झापामा जेन–जी आन्दोलनका क्रममा आगजनी, तोडफोड भएका संरचनाहरुको अवलोकन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले सार्वजनिक सम्पति, नगरपालिका, राजनीतिक कार्यकर्ताको घर जलाउनेहरु कानूनुनअनुसार दोषी रहेको बताए । अपराधिक गतिविधि गर्नेहरुलाई कारबाही हुनुपर्ने र अपराधलाई प्रोत्साहन गर्न नसकिने बताए । अपराध रोकेर शान्तिपूर्ण, बस्न लायकको देश बनाउनु पर्ने बताए ।
उनले भने, ‘राष्ट्रिय सम्पति, सार्वजनिक सम्पति, नगरपालिका, राजनीतिक कार्यकर्ताको घर, कार्यालय जलाउने कुरा अपराधिक गतिविधि हुन् । अपराधलाई प्रोत्साहन गर्न सकिँदैन । अपराध रोक्नु पर्छ । अपराध रोकेर शान्तिपूर्ण, बस्न लायकको देश बनाउनु पर्छ । कारबाहीको दायरामा ल्याउनु पर्छ । अरुको घर जलाएर छोडिदिन पाइन्छ ? अहिलेको सरकार सायद उनीहरुकै सरकार हो । त्यसकारण उनीहरुलाई जोगाउने काम गरेको छ ।’
अन्तरिम सरकार देश जलाउनेहरुकै भएकाले पनि अपराधीहरुलाई कारबाही नगरेको उनको जिकिर छ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अध्यक्ष ओली मनोनयन गर्न सोमवार मात्रै झापा गएका थिए । झापा ५ बाट उनले आगामी निर्वाचनमा प्रतिष्पर्धा गर्ने गरी मनोनयन गराएका छन् ।
