ओलीले आज झापा–५ को दक्षिणी भेगका कार्यकर्ता भेट्दै, अलग–अलग छलफल
झापा । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नम्बर ५ का दक्षिणी भेगका कार्यकर्तासँग प्रत्यक्ष भेटघाट गर्दैछन् । गौरादह नगरपालिका–५ स्थित स्कूलचोकको नमुना कृषि खेतीको सभाहलमा आयोजना हुने कार्यक्रममा ओलीले प्रत्येक वडा कमिटीसँग अलग–अलग छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।
जिल्ला पार्टी सचिव तुलसी कार्कीका अनुसार गौरादह नगरपालिकाका ८ वटा र गौरीगञ्ज गाउँपालिकाका ६ वटा वडाका वडा कमिटीसँग ओलीले छुट्टाछुट्टै संवाद गर्नेछन् । छलफलमा वडाका पदाधिकारी तथा सदस्यहरूले मतदाताको मनोविज्ञान, विकासको अवस्था र पार्टी संगठनको वर्तमान गतिविधिबारे अध्यक्ष ओलीलाई जानकारी गराउने छन् ।
त्यस्तै, ओलीले कार्यकर्ताका गुनासा सुन्ने, पार्टीको नीति, देशको समसामयिक आवश्यकता र झापा–५ मा आफूले गरेको योगदानबारे स्पष्ट पार्ने तयारी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बालेन्द्र शाह (बालेन) को उम्मेदवारी चर्चामा आएपछि झापा–५ को राजनीतिक माहोल थप तातिएको छ, जसलाई ओलीको यो सक्रियतासँग जोडेर हेरिएको छ ।
अध्यक्ष ओलीले आजै ‘जेन जी आन्दोलन’ का क्रममा आगजनी र तोडफोड भएका संरचनाको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ । उक्त आन्दोलनमा गौरादह नगरपालिका कार्यालयसहित वडा नम्बर १, २ र ७ का कार्यालय, मुख्यमन्त्री हिक्मत कार्की, गौरादहका मेयर छत्रपति सुवेदी र उपमेयर जलवर्षा राजवंसीको निवासमा आगजनी गरिएको थियो ।
यसअघि ओलीले मंगलबार र बुधबार दमक नगरपालिका र कमल गाउँपालिकाका वडा कमिटीसँग पनि अलग–अलग छलफल गरिसकेका छन् । यस पटक प्रत्येक वडा कमिटीसँग छुट्टै भेटघाट गर्ने व्यवस्थाले संगठन सुदृढीकरण र चुनावी तयारीलाई थप तीव्र बनाउने एमालेको अपेक्षा छ ।
