सभापति गगन थापा भोलि सर्लाही–४ जाँदै, ‘उम्मेदवार बनेर जाँदा उत्साह अलग छ’
काठमाडौँ । नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका सभापति गगन थापा भोलि (आइतबार) सर्लाही जाने भएका छन् ।
थापा प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेको क्षेत्र सर्लाही–४ मा उम्मेदवारका रूपमा जान लागेका हुन् । यसअघि पटक–पटक राजनीतिक कार्यक्रमका लागि सर्लाही पुगेका थापा यसपटक भने प्रत्यक्ष निर्वाचनमा होमिएर जिल्ला जान लागेका हुन् ।
शनिबार नयाँ बानेश्वरमा आयोजित सर्लाही–४ का युवासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले आफू सर्लाही जान लागेको जानकारी दिएका थिए ।
‘भोलि म सर्लाही जाँदैछु । पटक–पटक म क्षेत्र नम्बर ४ गएको छु, तर राजनीतिक कार्यक्रममा,’ उनले भने, ‘यो पटक भने म उम्मेदवार बनेर जाँदैछु । मेरो मनमा एकदमै धेरै उत्साह छ ।’
थापाले सर्लाही–४ का युवामाथि भरोसा गरेर आफूले जीवनकै सबैभन्दा ठूलो राजनीतिक निर्णय लिएको दाबी गरे ।
‘म जीवनको अत्यन्तै ठूलो राजनीतिक निर्णय गरेर सर्लाही–४ आएको छु, तपाईंहरूको भर परेर,’ उनले भने ।
अन्तरक्रियामा सहभागी युवालाई निर्वाचनको समयमा सर्लाही पुगेर सहयोग गर्नसमेत उनले आग्रह गरे । युवाको समर्थन र भरोसाकै कारण आफू सर्लाही–४ बाट निर्वाचन लड्ने निष्कर्षमा पुगेको उनको भनाइ थियो ।
‘इलेक्सनको बेलामा सक्ने काम गरिदिन सर्लाही आइदिनुपर्छ । तपाईंको घर–घर पुगेर अभिभावकलाई भनिदिनुपर्छ,’ थापाले भने, ‘हाम्रो साथी, हाम्रो दाइ, हामीमाथि भरोसा गरेर आएको छ, उसलाई यही ठाउँको सांसद बनाएर पठाउनुपर्छ भनेर विश्वासका साथ काम गरिदिनुहोस् । म तपाईंहरूको भरोसामा आएको हुँ ।’
यसअघि शुक्रबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै निर्वाचनमा जाने निर्णय गरेको थियो । उपसभापति विश्वप्रकाश शर्माले अर्का उपसभापति पुष्पा भुसालको समर्थनमा राखेको प्रस्ताव बैठकले सर्वसम्मत रूपमा पारित गरेको थियो ।
