`

राष्ट्रियसभामा निर्विराेध निर्वाचित ‘नेपोबेबी’ सदस्य सुनिलबहादुर थापालाई राजनीतिमा ‘सुब्बेफाब्बे’

रामचन्द्र जाेशी ११ माघ २०८२ १३:१६
निर्वाचन विषेश

काठमाडौं । राप्रपाका संस्थापक तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन्– सुनिलबहादुर थापा । उनी राष्ट्रियसभा सदस्य निर्विरोध निर्वाचित भइसके । निर्वाचित भएको प्रदेश कोशी र दल नेपाली कांग्रेस हो ।

देशका सातै प्रदेशमा आइतबार बाँकी १७ जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ । प्रदेश राजधानीहरूमा मतदान भइरहेको छ । मतदाता प्रदेश सांसदसँगै स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष हुन् ।

थापाले भने चुनावी प्रतिस्पर्धा गर्नै परेन । निर्विरोध हुँदा उनलाई हाइसञ्‍चाे भयो । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार हेमराज घिमिरे संखुवासभादेखि विराटनगर पुग्न ढिला हुँदा थापा निर्विरोध भएका हुन् ।

घिमिरे समयमै उम्मेदवारी दिन पुगेको भए उनी प्रतिस्पर्धामा उत्रिनुपर्थ्याे । तर, उनको पद तथा गोपनीयताको शपथ ग्रहण भने भएको छैन । आइतबार भएको निर्वाचनबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरूसँगै हुने छ ।

सुनिलबहादुर राजनीतिमा आएको डेढ दशक भएको छैन तर राजनीति सार्वधिक ‘सुब्बेफाब्बे’ भयो । राष्ट्रसंघअन्तर्गतका विभिन्‍न देशमा लामो समय उनी जागिरे थिए ।

जागिरबाट रिटायर्डपछि उनी राजनीतिमा आएका हुन् । २०७० सालको संविधानसभा निर्वाचनमा उनले धनकुटा–२ मा राप्रपाका तर्फबाट प्रत्यक्ष जिते । त्यो क्षेत्र उनका बुबाको परम्परागत निर्वाचन क्षेत्रसमेत हो । २०७४ जेठमा बनेको शेरबहादुर देउवाको मन्त्रिपरिषद्‍मा उनी वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत बने ।

तर समयसँगै राप्रपाको राजनीति ओरालो लाग्दै गयो । राजावादी एजेन्डाले जनसमर्थन गुमाउँदै गयो । यसपछि सुनिल २०७७ सालमा राप्रपा छाडेर नेपाली कांग्रेस प्रवेश गरे ।
कांग्रेस प्रवेशसँगै सुनिल थापा पार्टीभित्र द्रुत गतिमा अघि बढे । कांग्रेस प्रवेश गरेलगत्तै सभापति शेरबहादुर देउवाले उनलाई सहमहामन्त्रीजस्तो शक्तिशाली पद दिए ।

लामो समय पार्टीमा संघर्ष गरेका कार्यकर्ताका लागि यो निर्णय असहज थियो, तर नेतृत्वले थापामाथि भरोसा देखायो ।

१४औं महाधिवेशनबाट उनी कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भए । त्यसपछि उनको राजनीतिक हैसियत झन् बलियो बन्दै गयो ।

२०७९ सालमा भने उनी धनकुटाबाट नेकपा एमालेका राजेन्द्रकुमार राईसँग पराजित भए । राईले ३० हजार १०१ मत ल्याउँदा थापाले २८ हजार ७०४ मतमा सीमित हुनुपर्‍यो । प्रत्यक्ष चुनावमा हार व्यहोरे पनि थापाको राजनीतिक करिअर भने रोकिएन ।

१६ चैत २०७९ मा सुनिल थापा राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकार नियुक्त भए । मन्त्री सरहको सुविधा पाउने यो जिम्मेवारीले उनलाई सत्ता–राजनीतिक वृत्तमा थप नजिक पुर्‍यायो।

तर, राष्ट्रियसभा सदस्य बन्ने बाटो खोल्न उनले १ पुसमा राष्ट्रपति कार्यालयबाट राजीनामा दिए । केही सातापछि नै उनी राष्ट्रियसभाको उम्मेदवार बने । अन्ततः निर्विरोध संसद भए ।

यद्यपि, थपाा राष्ट्रियसभा सदस्य भएपछि पार्टीभित्र अनसन्तुष्टी चुलिएको छ । पार्टीका केही नेता–कार्यकर्ताले ‘योग्यता र योगदानभन्दा पनि थर र पहुँचका आधारमा अवसर दिइएको आरोप लगाएका छन् ।

हुन पनि कांग्रेस प्रवेश गरेयता उनले पछाडि फर्केर हेर्नु परेको छैन, पार्टी सहमहामन्त्री, केन्द्रीय सदस्य, राष्ट्रपतिको सल्लाहकार हुँदै अहिले राष्ट्रियसभा सदस्य ।

अब प्रश्‍न उब्जिएको छ– के सुनिल थापा राष्ट्रियसभामा पुगेर आफूलाई ‘नेपोबेबी’ भन्दा माथि उठाएर प्रमाणित गर्न सक्लान् ? अर्थात् विरासतको राजनीतिबाट नआएको पुष्टि गर्न सक्छन् ? उनको आगामी राजनीतिक यात्राको सबैभन्दा ठूलो चुनौती हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *