`

भारतीय कलाकारको टोली मुस्ताङमा

Nepal One HD १७ माघ २०८२ १८:२५
बलिउड / हलिउड

मुस्ताङ। ७७औँ भारतीय गणतन्त्र दिवसका अवसरमा सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्न भारतीय कलाकारको टोली आज बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ आइपुगेको छ ।

नेपालस्थित भारतीय राजदूतावासको समन्वयमा दूतावासका चार जना प्रतिनिधिसहित भारतीय सांस्कृतिक कलाकारको टोली मुस्ताङ आइपुगेको हो ।

भारतीय राजदूतावासअन्तर्गत भारतस्थित आसामको स्वामी विवेकानन्द कल्चर सेन्टरबाट कलाकारसहित नृत्य प्रदर्शन गर्ने टोली मुस्ताङ आइपुगेको कलाकार टोलीका अगुवा मुकुट बोराले जानकारी दिनुभयो । उहाँका अनुसार आसामको बिहु फोक नृत्य यहाँ देखाउने गरी कलाकार, प्राविधिक र प्रतिनिधिसहित १८ जना सहभागी छन् ।

यसैगरी भारतीय गणतन्त्र दिवसका अवसरमा यहाँ आयोजना गरिएको एक समाहरोहमा कार्यक्रम निर्देशक वासिङ मल्लिक र राहुलसहित अन्य चार जनाको सहभागिता थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाले नेपाल सरकारसँग अनुमति लिएर सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्न भारतीय टोली यहाँ आएको जानकारी दिनुभयो ।

आसामबाट यहाँ आएका कल्चर सेन्टरका टोलीले घरपझोङ गाउँपालिका–२ माफास्थित सामुदायिक समाजघरमा सांस्कृतिक नृत्य सञ्चालन गरेको हो । पूर्ववाणिज्यमन्त्री रोमी गौचन थकालीको प्रमुख आतिथ्यतामा भारतीय कलाकारले करिब एक घण्टासम्म दुई वटा बिहु फोक नृत्य प्रदर्शन गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *