पूर्वप्रधानमन्त्री नेपालद्वारा त्रिशूली बस दुर्घटनामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ठूलो मानवीय क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री नेपालले आज एक शोक वक्तव्य जारी गर्दै उक्त दुर्घटनामा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको हो । दुर्घटनामा घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँले उद्धार तथा प्रभावकारी उपचारका आग्रह गर्नुभयो ।
पूर्वप्रधानमन्त्री नेपालले पीडितपरिवारलाई राहत व्यवस्थापनमा कुनै कमी हुन नदिन सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराउनुभयो ।
धादिङको चरौँदी नजिक आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा घटनास्थलमै १७ तथा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ भने घाइतेको उपचार भइरहेको जनाइएको छ ।
