भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गरिन्छ : उपसभापति अर्याल
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले निर्वाचित भएपछि प्रत्येक वडामा नागरिक अगुवासहितको खबरदारी संयन्त्र गठन गर्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति संस्थागत रूपमा कार्यान्वयन गर्ने बताउनुभएको छ ।
आज आफ्नो चुनावी क्षेत्र काठमाडौँ क्षेत्र नं ९ का विभिन्न ठाउँमा भएको चुनावी कार्यक्रममा उहाँले सुशासन आफ्नो वाचापत्रको पहिलो प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो । उहाँले सार्वजनिक सुनुवाइ र समयसीमाभित्र गुनासो सम्बोधन गर्ने संरचना लागू गर्ने बताउनुभयो ।
उहाँले आज बल्खु टेकुसी, कुमारी क्लब, गाम्बेल, शिवनगर, खसीबजार, कलङ्की मन्दिर, लमपाटी, कालीमाटी, कुलेश्वर, फलफूल मण्डी क्षेत्रमा घरदैलो कार्यक्रम गर्नुभएको थियो ।
सो क्रममा उहाँले स्थानीय बासिन्दा, साना व्यवसायी, श्रमिक तथा युवासँग प्रत्यक्ष संवाद गर्नुभएको थियो । मतदातासँगको छलफलमा अर्यालले भन्नुभयो, “भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता भन्ने कुरा भाषणको शब्द होइन, कार्यप्रणालीको आधार बन्नुपर्छ । निर्वाचित भएपछि प्रत्येक वडामा नागरिक अगुवासहितको खबरदारी टोली गठन गरिनेछ । विकास योजना, बजेट कार्यान्वयन र सार्वजनिक सेवाको मासिक क्षेत्रगत सार्वजनिक सुनुवाइ गरिनेछ । जनगुनासोको प्रकृति हेरि बढीमा एक हप्तादेखि ३० दिनभित्र समाधान प्रक्रिया अघि बढाइनेछ ।”
अर्यालले न्यायोचित बजेट वितरण र शतप्रतिशत कार्यान्वयन सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदै कलङ्की– सतुङ्गल हुँदै नागढुङ्गा र सीतापाइलादेखि भीमढुङ्गा क्षेत्रलाई हरित कोरिडोरको रूपमा विकास गर्ने योजना रहेको बताउनुभयो ।
