`

प्याकेजमा समेटिँदै पोखरादेखि मुक्तिनाथसम्मका पर्यटकीय गन्तव्य

Nepal One HD २७ फागुन २०८२ ७:१६
प्रमुख खबर

गण्डकी । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशले पर्यटन यातायातका माध्यमबाट पोखरादेखि हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथसम्मका धार्मिक पर्यटकीय गन्तव्य समेट्ने भएको छ ।

पोखरादेखि मुस्ताङसम्मका धार्मिक पर्यटकीय गन्तव्यलाई यही चैत १ गतेदेखि पर्यटन यातायातका माध्यमबाट समेट्न लागिएको सङ्घका अध्यक्ष दुर्गादत्त दाहालले जानकारी दिए । गण्डकी प्रदेश धार्मिक पर्यटनको गन्तव्य भएको बताउँदै उनले यहाँको धार्मिक पर्यटनको प्रवर्द्धन र विकासलाई सङ्घले प्राथमिकतामा राखेको उनले बताए ।

पोखराबाट मुक्तिनाथसम्मका गन्तव्यलाई एउटै यात्रामा अवलोकन गर्न पाउने गरी सङ्घले सुलभ दरमा आकर्षक प्याकेजसहित मुक्तिनाथ दर्शनको सेवा सुरु गर्न लागेको कार्यक्रम संयोजक एवं सङ्घका निवर्तमान अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिए ।

पोखरादेखि मुक्तिनाथसम्म यात्राका क्रममा बाटोमा पर्ने धार्मिक पर्यटकीय गन्तव्यलाई एउटै प्याकेजमा समेट्न लागिएको उनले बताए । “हामीले पोखरादेखि मुक्तिनाथसम्मको दुई दिने प्याकेज तयार गरेका छौँ”, उनले भने, “पहिलो दिन पोखराबाट दृश्यावलोकन सहित पर्यटकहरू कुस्मा बजार, बागलुङ कालिका मन्दिर, गलेश्वर मन्दिर दर्शनका साथै तातोपानी, मार्फा गाउँ अवलोकन गर्दै जोमसोम पुग्नेछन् भने दोस्रो दिन जोमसोमबाट कागबेनी हुँदै मुक्तिनाथको दर्शन गरी पोखरा फर्कन्छन् ।”

प्रयोग गरिने सवारीसाधनसँगै होटलको खाना र खाजाको अवस्थाअनुसार न्यूनतम दुई हजार ९९९ रुपैयाँदेखि तीन हजार ९९९, चार हजार ९९९ र पाँच हजार ९९९ रुपैयाँसम्मका प्याकेज निर्धारण गरिएको उनले जानकारी दिए ।

पछिल्ला समयमा देशका विभिन्न स्थानबाट आउने पर्यटकसँगै भारतीय पर्यटक र अन्य विदेशी मुलुकका पर्यटकहरू ठुलो सङ्ख्यामा मुक्तिनाथ पुग्ने गरेको संघका सल्लाहकार एवं पूर्वअध्यक्ष बोबरजङ्ग गुरुङले बताए ।

स्वदेशी एवं विदेशी पर्यटकको सुविधालाई दृष्टिगष्त गरी उक्त क्षेत्रमा सुरु गरिएको आकर्षक प्योकजसहितको कार्यक्रमले पर्यटकलाई सुविधा पुग्ने र यसले पर्यटकको आगमन बढाउने विश्वास लिइएको उनले बताए । उनका अनुसार सङ्घअन्तर्गत आबद्ध १२४ सदस्यहरूले विभिन्न सुविधा सम्पन्न पर्यटक सवारीसाधन सञ्चालन गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *