`

समाज सेवा र शिक्षा रूपान्तरणको महाअभियानमा ‘इन्फिनिटी फाउन्डेसन’

Nepal One HD २७ वैशाख २०८३ ११:२४
समाचार

काठमाडौं दक्षिण कोरियामा कार्यरत २० वर्षीय युवा संस्थापक प्रतिक राई र कुसल खड्काको नेतृत्वमा रहेको इन्फिनिटी फाउन्डेसन नेपालले देशभरका सरकारी विद्यालयहरूमा शैक्षिक, सामाजिक तथा प्रेरणामूलक कार्यक्रम सञ्चालन गर्दै उल्लेखनीय काम गरिरहेको छ। 

सानो उमेरमै समाजसेवा र नेपालको शिक्षा प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित अघि बढेको यस संस्थाले विशेषगरी आर्थिक अभावका कारण पछाडि परेका जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गर्दै आएको हो।

फाउन्डेसनले विद्यार्थीहरूको बौद्धिक तथा व्यक्तित्व विकासलाई प्राथमिकतामा राख्दै हाजिरीजवाफ, वक्तृत्वकला, नेतृत्व विकास र प्रेरणामूलक गतिविधिहरू आयोजना गर्दै आएको छ। यस्ता कार्यक्रमहरूले विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता र सकारात्मक सोच विकास गर्न सहयोग पुगेको संस्थाले जनाएको छ।

यसैबीच, ‘पूर्ण छात्रवृत्ति कार्यक्रम’ फाउन्डेसनको प्रमुख र प्रभावकारी अभियानका रूपमा विस्तार भइरहेको छ। उक्त कार्यक्रमअन्तर्गत उत्कृष्ट नतिजा हासिल गर्ने, अनुशासित तथा प्रतिभाशाली विद्यार्थीहरूलाई छनोट गरी एक वर्षे पूर्ण छात्रवृत्ति प्रदान गरिन्छ।

छात्रवृत्तिमा ट्युसन तथा परीक्षा शुल्क मात्र होइन, विद्यालय पोसाक, झोला, जुत्ता-मोजा, कापी, कलम, क्याल्कुलेटर, जियोमेट्री बक्सलगायत सम्पूर्ण शैक्षिक सामग्री उपलब्ध गराइन्छ। साथै, विद्यार्थीहरूको समग्र विकासका लागि शैक्षिक भ्रमणको खर्चसमेत फाउन्डेसनले बेहोर्दै आएको छ। आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुनसक्ने विद्यार्थीहरूलाई निरन्तर शिक्षासँग जोडिराख्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रम धेरै अभिभावक र विद्यालयका लागि आशाको माध्यम बनेको छ।

विदेशमा रहेर पनि मातृभूमिको शिक्षा सुधारमा योगदान दिँदै आएका युवा संस्थापकद्वय राई र खड्काको यो अभियान अहिले धेरै युवाका लागि प्रेरणाको स्रोत बन्दै गएको छ। सरकारी विद्यालयको गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीलाई अवसर, प्रेरणा र गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यसहित फाउन्डेसनले आफ्नो अभियानलाई अझ विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *