रसुवामा पहिलो भिडियो एक्स–रे प्रविधिबाट पशु परीक्षण
रसुवा । रसुवाको उत्तरगया गाउँपालिकाको आयोजनामा तथा हेफर प्रोजेक्ट नेपाल को प्राविधिक सहयोगमा जिल्लामै पहिलो पटक भिडियो एक्स–रे प्रविधिको प्रयोग गरी पशुहरूको स्वास्थ्य परीक्षण गरिएको छ।
यस प्रविधिबाट पशुहरूमा बाँझोपन भए वा नभएको, पाठेघरको सङ्क्रमण तथा डिम्बाशयमा पानीका फोका भए वा नभएको पहिचान गरी उपचार गरिएको हो। साथै भिडियो एक्स–रेको माध्यमबाट पशुहरूको गर्भ परीक्षण समेत गरिएको छ।
पछिल्ला वर्षहरूमा पशुपालक किसानहरूको सङ्ख्या घट्दै गएको सन्दर्भमा उत्तरगया गाउँपालिका पशु सेवा शाखाले पहिलो पटक अत्याधुनिक प्रविधिसहित पशु विशेषज्ञ टोली परिचालन गरेको हो। विशेष गरी उत्तरगया गाउँपालिका वडा नं. ४ र ५ का दुग्ध उत्पादक किसानहरूलाई लक्षित गर्दै विशेषज्ञ टोली गाउँ–गाउँ पुगेको थियो।
यसअघि आँखाले हेरेर तथा सामान्य लक्षणका आधारमा मात्र रोग पहिचान गरिँदै आएको थियो। तर अहिले अत्याधुनिक उपकरणमार्फत परीक्षण हुन थालेपछि किसानहरूमा नयाँ आशा पलाएको छ। विज्ञ टोलीले कर्मीडाँडा, लहरेपौवा, बेत्रावती तथा बनुवा गाउँमा पुगेर सेवा प्रदान गरेको हो।
उक्त शिविरमा गाउँपालिकामा कार्यरत पशु सेवा प्राविधिकहरूलाई भिडियो एक्स–रेको माध्यमबाट गर्भ परीक्षण, बाँझोपन पहिचान तथा उपचार विधिबारे अभिमुखीकरण समेत गरिएको थियो। शिविरमा पशुहरूले किला काटी खाए वा नखाएको तथा पशुले राँगो वा साँढे खोजे वा नखोजेको अवस्थासमेत आधुनिक मेसिनको प्रयोगबाट पहिचान गरिएको थियो।
शिविरमा वडा नं. ५ का वडा अध्यक्षले यस्ता प्रविधिको प्रयोग अत्यन्त उपयोगी रहेको बताएका छन्। उक्त शिविरमा ३५ भन्दा बढी पशुहरूको परीक्षण गरिएको थियो। मान्छेमा जस्तै पशुमा पनि भिडियो एक्स–रे प्रविधिबाट परीक्षण गरिएको पहिलो पटक प्रत्यक्ष देख्दा आफ्नै गोठमै भएको काम अचम्म र अनौठो लागेको किसान शिवराज आचार्यले बताए।
यस्तो प्रविधिको प्रयोग आगामी दिनमा गाउँपालिकाको हरेक वडा र टोल–टोलमा पुर्याउन वडा नं. ५ का अध्यक्ष यमनाथ आचार्यले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
