भारतीय विदेश सचिव मिस्रीको नेपाल भ्रमण किन रोकियो ?
काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्रीको तय भएको नेपाल भ्रमण भारतकै तर्फबाट स्थगित गरिएको छ । भारतीय सञ्चारमाध्यम सीएनएन न्युज-१८ ले साउथ ब्लकलाई उद्धृत गर्दै कूटनीतिक कारण देखाएर भ्रमण तत्कालका लागि रोकिएको जनाएको छ । तर भ्रमण स्थगनको विस्तृत आधिकारिक कारण भने सार्वजनिक गरिएको छैन ।
भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, ऊर्जा व्यापार, प्रसारण लाइन, रेल तथा पूर्वाधार विकास र क्षेत्रीय सहकार्यलगायत विषयमा उच्चस्तरीय छलफल हुने अपेक्षा गरिएको थियो । नयाँ मिति भने अहिलेसम्म तय भएको छैन ।
नेपाल–भारतबीच पछिल्लो समय ऊर्जा तथा कनेक्टिभिटी परियोजनामा संवाद तीव्र भइरहेका बेला भ्रमण स्थगित हुनुलाई कूटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।
यसबीच, प्रधानमन्त्री बालेन्द्र शाहले प्रोटोकलको कारण देखाउँदै विक्रम मिस्रीसँग भेट गर्न अस्वीकार गरेको चर्चा पनि सार्वजनिक भएको छ । उनी ‘समान स्तर’ को व्यक्तिसँग मात्र औपचारिक भेट गर्ने अडानमा रहेको बताइन्छ । यसअघि पनि अमेरिकी सहायक विदेशमन्त्री र पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतसँग उनले औपचारिक भेट नगरेको उल्लेख छ ।
यसअघि परम्पराअनुसार भारतीय विदेश सचिवको नेपाल भ्रमणका क्रममा राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट हुने प्रचलन रहँदै आएको थियो ।
त्यस्तै, हालै लिपुलेक त्रिदेशीय क्षेत्रलाई लिएर देखिएको तनावले पनि भ्रमण स्थगनमा भूमिका खेलेको हुनसक्ने अनुमान गरिएको छ । नेपालले भारत र चीनले लिपुलेक हुँदै कैलाश–मानसरोवर यात्रा पुनः सञ्चालन गर्ने निर्णयप्रति आपत्ति जनाएको थियो ।
भ्रमणको तयारी परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच मौरिससमा भएको भेटपछि अघि बढाइएको बताइएको थियो । भ्रमणका क्रममा मिस्रीले प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा हस्तान्तरण गर्ने कार्यक्रम समेत तय गरिएको थियो ।
