सानफ्रान्सिस्कोमा भव्य रूपमा मनाइयो ‘नेपाल उत्सव’
टेक्सास। अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना गरिएको छ। नेपाली कला, संस्कृति, वेशभूषा तथा परम्पराको प्रदर्शनमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले उक्त उत्सव आयोजना गरिएको हो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्नियालगायत विभिन्न नेपाली सामाजिक संस्थाको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा अमेरिकाका विभिन्न सहरमा रहेका नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। लस एन्जलस, सान डिएगो, साक्रामेन्टो, बेकर्सफिल्ड, लङबीचलगायतका सहरबाट नेपालीहरू सानफ्रान्सिस्को पुगेका थिए।
सानफ्रान्सिस्को सिटी हलबाट सुरु भएको ‘नेपाल डे परेड’ एम्बार्काडेरो प्लाजासम्म करिब १.६ माइल दूरीमा सञ्चालन गरिएको थियो। परेड अवधिभर मुख्य सडक मार्केट स्ट्रिटमा सवारी आवागमन बन्द गरी पैदलयात्रुका लागि खुला गरिएको थियो।
विभिन्न जातीय तथा क्षेत्रीय संस्थाहरूले प्रस्तुत गरेका झाँकी, नेपाली वेशभूषा र सांस्कृतिक प्रस्तुतिहरूले सानफ्रान्सिस्कोको सडकलाई ‘नेपालमय’ बनाएको थियो। प्रदर्शन गरिएका नेपाली कला र संस्कृतिलाई स्थानीय अमेरिकी समुदायले समेत रुचिपूर्वक अवलोकन गरेका थिए।
नेपाली समुदायलाई हौसला प्रदान गर्न अमेरिकाका विभिन्न स्थानीय जनप्रतिनिधिहरू समेत कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रममा पञ्चकन्या, पञ्चेबाजा, शङ्खध्वनि, कुमारी, धिमे तथा लाखे नाच मुख्य आकर्षण बनेका थिए।
उत्सवमा सानफ्रान्सिस्कोस्थित विभिन्न देशका महावाणिज्य दूतावासका कूटनीतिक अधिकारी, बे एरियाका मेयर तथा सिटी काउन्सिल सदस्यहरूको समेत सहभागिता रहेको एनआरएनए क्यालिफोर्नियाका सचिव कैलाश केसीले जानकारी दिए।
