`

स्वास्थ्यचौकी जीर्ण : चुहिने छतमुनि उपचार

Nepal One HD २९ वैशाख २०८३ ११:५७
जीवनशैली/स्वास्थ्य

सल्यान। सल्यानको बागचौर नगरपालिका–८ कोटमौलामा रहेको स्वास्थ्यचौकी भवन बाहिरबाट हेर्दा व्यवस्थित र सुविधासम्पन्न देखिए पनि भित्रको अवस्था भने अत्यन्तै दयनीय बनेको छ। भवनको छतबाट पानी चुहिने, भित्ताहरू रसाउने र कोठाभरि बाल्टिन राखेर पानी थाप्नुपर्ने अवस्था भएपछि स्वास्थ्य सेवा प्रवाहमै समस्या देखिएको छ।

स्थानीयका अनुसार झन्डै चार-पाँच वर्षदेखि छत चुहिने समस्या निरन्तर रहँदै आएको छ। वर्षात्को समयमा स्वास्थ्यचौकीभित्रै पानी पस्ने भएकाले स्वास्थ्यकर्मी र सेवाग्राही दुवैले छाता ओढेर सेवा लिनुपर्ने बाध्यता रहेको छ।

वि.सं. २०३० सालमा स्थापना भएको उक्त स्वास्थ्यचौकीको पक्की भवन करिब १२ वर्षअघि भवन तथा सहरी विकास कार्यालय सुर्खेतले निर्माण गरेको थियो। तर निर्माणपछि केही वर्षमै छतबाट पानी चुहिन सुरु भए पनि समयमै मर्मत नहुँदा भवनको अवस्था क्रमशः बिग्रँदै गएको स्थानीयले बताएका छन्।

स्वास्थ्यचौकीका इन्चार्ज दीपेन्द्र गिरीका अनुसार भवन मर्मतका लागि पटक-पटक सम्बन्धित निकायमा अनुरोध गरिए पनि अहिलेसम्म कुनै सुनुवाइ भएको छैन। उनका अनुसार वर्षात्को समयमा बिरामीलाई सेवा दिन निकै कठिनाइ हुने गरेको छ।

दैनिक करिब २५ देखि ३० जनासम्म सेवाग्राही आउने उक्त स्वास्थ्यचौकीमा स्थानीय वडा नं. ८ का बासिन्दासहित वडा नं. ९ र छिमेकी रोल्पाको गंगादेव गाउँपालिका–३ र ५ का नागरिकहरूले समेत सेवा लिँदै आएका छन्। तर, वर्षायाम सुरु भएसँगै उपचारभन्दा पहिले भवनभित्र पानी व्यवस्थापन गर्ने चिन्ता बढ्ने गरेको स्वास्थ्यकर्मीहरूको भनाइ छ।

स्थानीय वडाध्यक्ष सुशीलजंग चन्दका अनुसार भवन बाहिरबाट राम्रो देखिए पनि वर्षा हुँदा भित्रको अवस्था अत्यन्तै जोखिमपूर्ण बन्ने गरेको छ। उनका अनुसार सबै कोठामा बाल्टिन राखेर सेवा दिनुपर्ने बाध्यता छ भने भित्ताहरूमा चिरा परेका छन्।

६ सय ४० भन्दा बढी घरधुरी र करिब ६ हजार ५ सय जनसंख्या रहेको वडाको प्रमुख स्वास्थ्य सेवा केन्द्र नै जीर्ण अवस्थामा पुग्दा स्थानीय चिन्तित बनेका छन्। वडाध्यक्ष चन्दले नगरपालिका तथा सम्बन्धित निकायलाई बारम्बार जानकारी गराउँदा पनि मर्मतका लागि कुनै पहल नभएको बताए।

समयमै मर्मत तथा पुनर्निर्माण नहुँदा स्वास्थ्यजस्तो संवेदनशील सेवामा समेत जोखिम बढेको र कुनै दिन ठूलो दुर्घटना हुन सक्ने अवस्था देखिएको स्थानीयले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *