अर्घाखाँची बस दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो, २६ जना घाइते
काठमाडौँ । अर्घाखाँचीमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ भने २६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक झलक शर्मा का अनुसार पाणिनी गाउँपालिका–८ स्थित कोल्डाँडा भित्री सडकखण्डमा भएको दुर्घटनामा गम्भीर घाइते भएका चार जनाको उपचारका क्रममा मृत्यु भएको हो।
पर्वतको मोदी गाउँपालिकाबाट सुपादेउराली दर्शनका लागि रिजर्भमा आएको ध १ ख ५०४ नम्बरको बस मंगलबार दिउँसो फर्किने क्रममा दुर्घटनामा परेको थियो। सुपादेउरालीबाट पर्वततर्फ जाँदै गरेको बस सडकबाट करिब १२० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि स्थानीयवासी, प्रहरी र उद्धार टोलीले घाइतेहरूको उद्धार गरेका थिए। घाइतेमध्ये केहीको पाल्पास्थित तानसेन मिसन अस्पताल तथा अन्यको अर्घाखाँची जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
