४३ वर्षको उमेरमा आमा बन्दै एनी
एजेन्सी। हलिउडकी चर्चित अभिनेत्री एनी ह्याथवे ४३ वर्षको उमेरमा तेस्रो सन्तानकी आमा बन्ने भएकी छन्।
उनले १९ जुनमा सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफू पति एडम शुल्मनसँग तेस्रो सन्तानको प्रतीक्षामा रहेको जानकारी सार्वजनिक गरेकी हुन्।
आगामी १७ जुलाई २०२६ मा उनको नयाँ फिल्म ‘द ओडिसी’ प्रदर्शनमा आउनुअघि उनले यो खुसीको खबर साझा गरेकी हुन्। घोषणासँगै उनको व्यक्तिगत र व्यावसायिक जीवन दुवै विषयमा विश्वभर चर्चा सुरु भएको छ।
एनीले इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा उनी सेतो पोशाकमा देखिन्छिन्। सुरुमा पेट छोपेर उभिएकी उनी पछि हात हटाउँदा बेबी बम्प देखिन्छ। भिडियोको पृष्ठभूमिमा बार्बरा लुइसको चर्चित गीत ‘बेबी आई एम योर्स’ बजिरहेको सुनिन्छ। उनले क्याप्सनमा ‘बेबी, आइ एम योर्स’ लेखेकी छन्।
उनको गर्भावस्थाको घोषणा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा बधाई सन्देशको ओइरो लागेको छ। प्रशंसकहरूले कमेन्टमा हार्ट इमोजी र शुभकामनाले पोस्ट भरिएका छन्।
एनी र उनका पति एडम शुल्मन पहिले नै दुई छोराका अभिभावक हुन्। उनीहरूका जेठा छोरा जोनाथन १० वर्षका छन् भने कान्छा छोरा ज्याक ६ वर्षका छन्। सन् २०१२ मा विवाह गरेका दम्पतीले २०१६ मा पहिलो छोरा र २०१९ मा दोस्रो छोरालाई स्वागत गरेका थिए। अब करिब सात वर्षपछि उनीहरू पुनः अभिभावक बन्न लागेका हुन्।
व्यावसायिक रूपमा पनि एनी ह्याथवे हाल उत्कृष्ट चरणमा छिन्। अप्रिल २०२६ मा ‘पीपल म्यागजिन’ले उनलाई ‘विश्वकै सबैभन्दा सुन्दर स्टार २०२६’ को उपाधि प्रदान गरेको थियो। त्यसपछि मे १ मा प्रदर्शनमा आएको फिल्म ‘द डेविल वेयर्स प्राडा २’ ले विश्वव्यापी रूपमा राम्रो व्यापार गरेको बताइएको छ।
अब उनी प्रसिद्ध निर्देशक क्रिस्टोफर नोलनको बहुप्रतीक्षित फिल्म ‘द ओडिसी’ मा देखिने भएकी छन्, जसले अग्रिम बुकिङमै उल्लेखनीय सफलता पाएको चर्चा छ। यसका साथै उनको अर्को फिल्म ‘मदर मेरी’ पनि प्रदर्शनको तयारीमा रहेको छ।
व्यक्तिगत जीवनमा एनीले विभिन्न उतारचढाव भोगेकी छन्। उनले एक अन्तर्वार्तामा सन् २०१५ मा पहिलो गर्भावस्थाका क्रममा गर्भपतन भएको खुलासा गरेकी थिइन्, जसले उनलाई भावनात्मक रूपमा गहिरो असर पारेको थियो।
सन् २०१२ मा परम्परागत यहुदी विवाह समारोहमार्फत एडम शुल्मनसँग विवाह गरेकी उनले विवाहका तस्बिर बिक्रीबाट प्राप्त रकम समलैंगिक विवाह अधिकारको पक्षमा काम गर्ने संस्था ‘फ्रीडम टु म्यारि’ लाई दान गरेकी थिइन्।
