`

पेट्रोलियम पदार्थको मूल्य बढ्दा तत्काल लागू हुने तर घट्दा किन लागू नहुने ?

Nepal One HD ११ असार २०८३ १२:०१
प्रमुख खबर

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल ले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा घट्दा पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य नघटाइएको भन्दै सरकार र नेपाल आयल निगमप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ३० प्रतिशतसम्म घटिसक्दा पनि नेपाली उपभोक्ताले अझै महँगो मूल्यमा इन्धन खरिद गर्नुपर्ने अवस्था कायम रहनु दुःखद भएको बताएका हुन्।

उनका अनुसार विश्व बजारमा मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ आम नागरिकसम्म पुग्नुपर्छ, तर त्यसो हुन नसकेको भन्दै उनले प्रश्न उठाएका छन्।

पौडेलले मूल्य नघटाइएको विषयमा उठिरहेका जनगुनासोप्रति नेपाल आयल निगमले कच्चा तेल नभई प्रशोधित तेल खरिद गर्ने भएकाले तत्काल मूल्य समायोजन गर्न नसकिने तर्क प्रस्तुत गर्दै आएको उल्लेख गरेका छन्। तर कच्चा र प्रशोधित तेलको मूल्यबीच केही प्रशोधन खर्च तथा समयको अन्तर भए पनि कच्चा तेलमा आएको ठूलो गिरावटको प्रभाव अन्ततः प्रशोधित तेलको लागतमा पनि देखिनुपर्ने उनको भनाइ छ।

उनले वास्तविक अवस्था सार्वजनिक नगरी पुरानै प्राविधिक कारण देखाएर मूल्य समायोजन नगर्नु पारदर्शिता र सुशासनको दृष्टिले उचित नभएको बताएका छन्। निगम र सरकारको यस्तो व्यवहारले व्यवस्थापकीय कमजोरी तथा उत्तरदायित्वको अभाव झल्किएको उनको टिप्पणी छ।

महामन्त्री पौडेलले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनका अनुसार प्रत्येक १५ दिनमा प्राप्त हुने नयाँ मूल्यसूचीका आधारमा मूल्य बढ्ने अवस्थामा जस्तै घट्ने अवस्थामा पनि तत्काल समायोजन हुनुपर्छ।

‘मूल्य बढ्दा तत्काल लागू हुने तर घट्दा लागू नहुने किन ?’ भन्ने प्रश्न गर्दै उनले मूल्य निर्धारण प्रक्रियामा पारदर्शिता, उत्तरदायित्व र उपभोक्तामैत्री नीति अपनाउन सरकार तथा निगमलाई आग्रह गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *