`

कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

Nepal One HD २६ साउन २०८३ ७:०९
समाचार

मुस्ताङ। उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत जोमसोम–कोरोलानाका जोड्ने मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–२ स्थित घमी खोलामा निर्माणाधीन पक्की मोटरेबल पुल सम्पन्न भएको छ ।

आयोजनाका अनुसार हालसम्म पर्वतको मालढुङ्गादेखि मुस्ताङको कोरोला नाकासम्मको २०२ किलोमिटर सडकखण्डमा १५ वटा पक्की पुल निर्माण सम्पन्न भएका छन् ।

विसं २०७५ पुस ९ गते ठेक्का सम्झौता भएको घमी खोला पक्की मोटरेबल पुल हालै सम्पन्न भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो । कोरला क्षेत्रमा कठोर भूगोल, प्रतिकूल मौसम, हिमपात र निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुल निर्माण समयमै सम्पन्न हुन सकेको थिएन ।

पुल निर्माणका लागि निर्माण कम्पनीलाई पटकपटक ताकेता र कारबाही गरिएको थियो । स्थानीय जनप्रतिनिधिको सहयोगमा ढिलै भए पनि पुल निर्माण सम्पन्न गरिएको आयोजना प्रमुख शर्माले बताउनुभयो ।

निर्माण कम्पनीले पुल निर्माणमा बेवास्ता र ढिलासुस्ती गरेपछि सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार छ महिनाको समयावधि तोकेर दैनिक जरिवाना तोकिएको थियो । पटकपटक म्याद थप हुँदै आएको घमी खोला पुलका लागि सार्वजनिक खरिद ऐनको १५औँ संशोधन आएपछि निर्माण कार्य सहज भएको आयोजना प्रमुख शर्माले बताउनुभयो ।

सम्झौताअनुसार २०७८ साल पुस ९ गतेभित्र सम्पन्न हुनुपर्ने घमी खोला पुलको पटकपटक म्याद थप हुँदै आएको थियो । आयोजना र लो घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोबसाङ छोम्पेल विष्टको सक्रियतामा सम्झौता अवधि सकिएको पाँच वर्षपछि निर्माणाधीन घमी खोला पुल सम्पन्न भएको आयोजनाले जनाएको छ ।

मुस्ताङको कोरोला नाका जोड्ने ४० मिटर लामो पुलको ठेक्का सम्झौता लागत रु छ करोड ८० लाख रहेको थियो । पुलको दायाँबायाँ पिलर फाउन्डेसन, स्ल्याब ढलान तथा घमी खोलामा पुल जोड्ने प्रोटेक्सन र एप्रोच सडक निर्माणलगायत पुल फिनिसिङका काम सम्पन्न भएका छन् । यससँगै कोरोलानाकातर्फको आवतजावत सहज भएको आयोजनाले जनाएको छ ।

यसअघि बर्खायाममा घमी खोलामा पानीको बहाव बढ्दा कोरोलाना र उपल्लो मुस्ताङ आवतजावत गर्ने सवारीसाधन तथा मालवाहक कन्टेनरलाई समस्या हुने गरेको थियो । चीनबाट कोरोला नाका हुँदै पैठारी गरिएका सामान बोकेका मालवाहक कन्टेनर घमी खोला पुल नहुँदा हप्तौँसम्म रोकिनुपर्ने अवस्था थियो ।

गत वर्ष मालवाहक कन्टेनरको आवतजावत सहज बनाउन व्यापारी र गाउँपालिकाको सहयोगमा डाइभर्सन सडक निर्माण गरी यातायात सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष विष्टले जानकारी दिनुभयो । ढिलै भए पनि निर्माण कम्पनीले पुलको काम सम्पन्न गरेपछि बाह्रै महिना सडक आवागमन सहज भएको अध्यक्ष विष्टले बताउनुभयो ।

पुल निर्माण सम्पन्न भएपछि गाउँपालिका अध्यक्ष विष्टले निर्माण कम्पनीका प्रतिनिधिलाई खादा लगाएर सम्मान गर्नुभएको थियो । सो अवसरमा पुलको समेत उद्घाटन गरिएको थियो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाले गत वर्ष मुस्ताङको कैकु, सेतु खोला र लार्जुङ खोलामा पक्की पुल निर्माण सम्पन्न गरेको थियो ।

चालु वर्ष पनि कोरोला नाका सडकलाई थप सहज बनाउन मुस्ताङको घट्टे खोला र थापा खोलामा पुल निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । यसैगरी, मुस्ताङको छुसाङदेखि घमीसम्मको सडक कालोपत्रका लागि रु दुई अर्बको बोलपत्र आह्वान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *